ऋषिङ्ग–२ स्थित सहिद गंगा माविमा ७० लाख लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण हुँदै

ऋषिङ्ग–२ स्थित सहिद गंगा माविमा ७० लाख लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण हुँदै

तनहुँ । ऋषिङ्ग गाउँपालिका वडा नं. २ स्थित सहिद गंगा माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधी नयाँ विद्यालय भवन तथा आधुनिक समावेशी शौचालय निर्माणका लागि आधिकारिक रूपमा सम्झौता सम्पन्न भएको छ। कुल ७० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यस परियोजनाअन्तर्गत ११ कोठे विद्यालय भवन निर्माण गरिनेछ।
गाउँपालिकाको शैक्षिक पूर्वाधारलाई सुरक्षित, व्यवस्थित तथा विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित अघि बढाइएको यस योजनाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ वातावरणमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै भवन निर्माण कार्य राष्ट्रिय मापदण्डअनुसार भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरी सम्पन्न गरिने जनाइएको छ।
यसैगरी, परियोजनाअन्तर्गत निर्माण गरिने आधुनिक समावेशी शौचालयले छात्र–छात्रा, शिक्षक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई समेत सहज र सुरक्षित सुविधा उपलब्ध गराउनेछ। विद्यालयमा सरसफाइ र स्वच्छताको स्तर वृद्धि भई समग्र शैक्षिक वातावरण थप प्रभावकारी बन्ने विश्वास लिइएको छ।
ऋषिङ्ग गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार विकासलाई निरन्तरता दिँदै आएको सन्दर्भमा यो परियोजना महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूले यस योजनाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्‍याउने बताएका छन्।


निर्माण कार्य तोकिएको समयसीमाभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ। आगामी दिनमा पनि गाउँपालिकाले शिक्षा क्षेत्रको समग्र विकासका लागि यस्ता योजनाहरूलाई निरन्तरता दिने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page