दमौलीमा ६/५ गोर्खा राइफल्सको ७८औँ स्थापना दिवस भब्य रूपमा मनाइयो

दमौली, तनहुँ —
६/५ गोर्खा राइफल्स (अग्रिम सेना) पूर्व सैनिक परिवार गण्डकी प्रदेशको ७८औँ स्थापना दिवस तनहुँको दमौलीमा भव्य तथा मर्यादित रूपमा सम्पन्न भएको छ। कार्यक्रममा गोर्खा, तनहुँ र लमजुङ जिल्लाबाट ठूलो संख्यामा पूर्व सैनिक तथा उनका परिवारजनको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम पूर्ण रूपमा राजनीतिरहित, फौजी अनुशासन र भावनामा आधारित रहँदै “सबैलाई समेट्ने, एउटै परिवार” भन्ने मूल नाराका साथ आयोजना गरिएको थियो। कार्यक्रममा पल्टनप्रतिको गर्व, एकता र योगदानलाई विशेष प्राथमिकता दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सुवेदार मेजर (हनेरी क्याप्टेन) सोमबहादुर गुरुङ रहनुभएको थियो। उहाँले गोर्खा सैनिकहरूको वीरता, अनुशासन र राष्ट्रप्रतिको योगदानको चर्चा गर्दै ६/५ गोर्खा राइफल्सको छुट्टै पहिचान र ऐतिहासिक योगदानलाई स्मरण गर्नुभयो।
कार्यक्रम सुवेदार गिरबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने वरिष्ठ सल्लाहकार हनेरी क्याप्टेन खिलबहादुर थापाले विशेष सल्लाह मन्तव्य दिनुभएको थियो। उहाँले “गाँस छोड्नु तर साथ नछोड्नु” भन्ने भावनात्मक सन्देशमार्फत गोर्खा परिवारबीचको आत्मीयता र एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य मिनाक्षी गुरुङले प्रस्तुत गर्नुभएको थियो भने झकबहादुर गुरुङले पल्टनको इतिहासबारे प्रकाश पार्नुभएको थियो। गोर्खा सैनिकका प्रतिनिधिका रूपमा हवल्दार मनबहादुर गुरुङले गोर्खा सैनिकहरूको अनुभव र योगदानबारे आफ्ना धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन सुवेदार केशव थापाले कुशलतापूर्वक गर्नुभएको थियो। औपचारिक कार्यक्रमसँगै उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान तथा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू समावेश गरिएको थियो, जसले कार्यक्रमलाई अझ जीवन्त र स्मरणीय बनाएको थियो।
समग्रमा, ६/५ गोर्खा राइफल्स (अग्रिम सेना) पूर्व सैनिक परिवार तनहुँको ७८औँ स्थापना दिवस एकता, गौरव, अनुशासन र भावनात्मक सम्बन्धको सन्देश बोकेको ऐतिहासिक तथा भव्य कार्यक्रमका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले बताएका छन्।


























