तनहुँमा अवैध क्रसर उद्योगमा प्रशासनले कडा कदम चाल्ने
दमौली, तनहुँ – तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा दर्ता नगरी, नवीकरण नगरी तथा स्वीकृत उद्देश्य विपरीत सञ्चालन भइरहेका क्रसर उद्योगहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँले कडा कदम चाल्ने भएको छ। शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सञ्चालित उद्योगहरूको अवस्थाबारे विस्तृत विवरण संकलन र अनुगमन कार्य सुरु गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले पदभार सम्हालेसँगै जिल्लाभर सञ्चालनमा रहेका क्रसर उद्योगहरूको वैधानिक अवस्था बुझ्ने कार्य अघि बढाएका छन्। उनले दर्ता नभएका उद्योगलाई तत्काल बन्द गरिने, नवीकरण नगरेका उद्योगलाई कानुनी दायरामा ल्याइने तथा उद्देश्य विपरीत सञ्चालन भइरहेका उद्योगमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्।
जिल्ला प्रशासन कार्यालय, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय, वातावरण शाखा तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोली गठन गरी उद्योगहरूको दर्ता, इजाजतपत्र, नवीकरण अवस्था तथा वातावरणीय मापदण्ड (IEE/EIA) पालना भए/नभएको विषयमा स्थलगत निरीक्षण सुरु गरिने भएको छ। प्रारम्भिक अनुगमनमा केही उद्योगहरू दर्ता नै नगरी सञ्चालनमा रहेको, केहीले लामो समयदेखि नवीकरण नगरेको र केही उद्योगहरूले स्वीकृत उद्देश्यभन्दा फरक प्रकृतिको कार्य गरिरहेको पाइएको स्रोतले जनाएको छ।
स्थानीय बासिन्दाले नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, धुलो–धुवाँ, सडक संरचनामा क्षति तथा कृषि जमिनमा नकारात्मक प्रभाव परेको भन्दै पटक–पटक गुनासो गर्दै आएका थिए। विशेषगरी नदी किनार आसपासका बस्तीहरूमा वातावरणीय सन्तुलन बिग्रिएको र जनस्वास्थ्यमा असर परेको दाबी गरिएको छ।
प्रमुख जिल्ला अधिकारीले “कानुनभन्दा माथि कोही पनि नहुने” स्पष्ट पार्दै कानुन विपरीत सञ्चालन हुने उद्योगलाई संरक्षण नगरिने बताएका छन्। “उद्योग सञ्चालन गर्न चाहनेले अनिवार्य रूपमा दर्ता, नवीकरण तथा तोकिएका मापदण्ड पूरा गर्नुपर्छ। नियम उल्लंघन गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही हुन्छ,” उनले भने।

प्रशासनले जिल्लाभर सञ्चालित सबै क्रसर उद्योगहरूको अद्यावधिक सूची तयार गरी चरणबद्ध रूपमा अनुगमनलाई तीव्रता दिने जनाएको छ। तनहुँमा सुरु भएको यो अभियानले अवैध उद्योगहरूलाई कानुनी दायरामा ल्याउने तथा प्राकृतिक स्रोत–साधनको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। जिल्लामा जय महालक्ष्मी एग्रिगेट , ए सिक्स एग्रिगेट , एसएन एल एग्रिगेट , मेलमिलाप ढुंगा वालुवा , प्राेफर कन्ट्रक्सन , नमुना ग्रिड लगायतका दर्ता नभइ सञ्चालनमा रहेको जिल्ला समन्वय श्राेतले बताएको छ । यस्तै एसजी राेडा , मनकामना गुरूङ निर्माण सेवा , सिद्धेश्वर एग्रिगेट , थापा एग्रिगेट , शिवसक्ती ढुंगा राेडा , खनाल गिट्टी बालुवा , क्वालिटि ग्रिड , यशाेशान्ती कटिङ , हारती , महालक्ष्मी , सिद्भेश्वर लगायतका नविकरण नगरी सञ्चालन गरेको बताइएको छ ।


























