तनहुँ–२ : रास्वपाका’ उम्मेदवार श्रीराम न्यौपाने चुनावी अभियानको केन्द्रमा
तनहुँ, फागुन ८ — आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने ले तनहुँ क्षेत्र नं २ को चुनावी प्रतिस्पर्धालाई नयाँ आयाम दिएका छन्। इन्जिनियरिङ पृष्ठभूमिका न्यौपानेले सुशासन, पारदर्शिता र परिणाममुखी विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। युवा मतदाता र पहिलो–पटक मतदान गर्न लागेका समूहसँग प्रत्यक्ष भेटघाट गर्दै, उनले घरदैलो, टोलसभा र विद्यार्थी–शिक्षक अन्तरक्रियामार्फत आफ्नो अभियानलाई व्यापक बनाएका छन्।
न्यौपानेले सडक, खानेपानी, सिँचाइ, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। उनले राजनीतिलाई सेवा र उत्तरदायित्वसँग जोड्नुपर्नेमा जोड दिनुका साथै स्थानीय समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने बताए। तनहुँ–२ परम्परागत रूपमा ठूला दलहरूको प्रभाव क्षेत्र मानिँदै आएको भए पनि यसपटक वैकल्पिक शक्तिको उदयसँगै प्रतिस्पर्धा त्रिकोणात्मक बनेको छ। ग्रामीण क्षेत्रमा स्थापित दलहरूको संगठन बलियो भए पनि शहरी तथा युवामाझ नयाँ नेतृत्वप्रति आकर्षण बढेको विश्लेषकहरूको भनाइ छ।
न्यौपानेले निर्वाचन घोषणा हुनुअघि नै आफ्नो Vision to Action कार्यक्रम मार्फत तनहुँ क्षेत्र नं २ का बिभिन्न विद्यालयमा ६५–इन्च Smart Board जडान गरिसकेका छन्। यसले काठमाडौंका गुणस्तरीय पाठ्यक्रमलाई ग्रामीण क्षेत्रका विद्यार्थीसम्म Live, Online र Offline माध्यमबाट पुर्याउन सम्भव बनाएको दावी गरिएको छ। नेपाली, गणित, विज्ञान, अंग्रेजी र सामाजिक शिक्षा विषयका डिजिटल सामग्री एक वर्षका लागि निःशुल्क उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई तालिम प्रदान गरी स्मार्ट बोर्ड सञ्चालनमा दक्ष बनाइएको हाे । यस पहलले ग्रामीण र शहरी विद्यालयबीचको दूरी घटाउने, विद्यार्थीमा प्रविधिमैत्री सोच विकास गर्ने र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने विश्वास गरिएको छ।
न्यौपानेले गाउँ–गाउँ पुगेर स्थानीय समस्या बुझ्दै समाधानमुखी योजना समेत प्रस्तुत गरेका छन्। स्थानीय युवा समूह, आमा समुह , युवा क्लब, शिक्षक र विद्यार्थीसँग प्रत्यक्ष संवाद, टोलसभा र जनसम्पर्क कार्यक्रममार्फत उनले आफ्नो स्थायी छवि निर्माण गर्दै अगाडि बढेका छन् । शिक्षा, सामाजिक काम र स्थानीय पहुँचले उनलाई परिवर्तन र विकासको प्रतीकको रूपमा स्थापित गरेको छ।

तनहुँ–२ मा यस पटकको निर्वाचनले परम्परागत नेतृत्वलाई निरन्तरता दिने कि नयाँ राजनीतिक धारलाई अवसर दिने भन्ने प्रश्नको उत्तर मतपेटिकाबाट प्राप्त हुने देखिन्छ। निर्वाचन नजिकिँदै जाँदा श्रीराम न्यौपानेको बहुआयामिक अभियान, शैक्षिक योगदान र प्रचार–प्रसार कार्यक्रम अझ व्यापक र तीव्र बन्दै गएको छ।


























