बन्दीपुर बजारका खाद्य पसलमा अनुगमन, म्याद नाघेका सामग्री नष्ट
तनहुँ — बन्दीपुर गाउँपालिकाको समन्वयमा बन्दीपुर बजार क्षेत्रका खाद्य पसलहरूमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, इलाका प्रहरी कार्यालय बन्दीपुर, पर्यटन प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ लगायतका निकायहरूको सहभागिता रहेको थियो।
बढ्दो ग्यास अभाव र बजारमा उपलब्ध खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले अनुगमन गरिएको हो। निरीक्षणका क्रममा म्याद नाघेका करिब १२ हजार २३० रुपैयाँ बराबरका खान अयोग्य सामग्री फेला पारेर नष्ट गरिएको सम्बन्धित निकायले जनाएको छ।
अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य पदार्थसँग अखाद्य वस्तु नराख्न, पहिले ल्याएको सामग्री पहिले नै बिक्री गर्ने (FIFO प्रणाली अपनाउने), मदिराजन्य पेय पदार्थको गुणस्तर सुनिश्चित गरेर मात्र खरिद गर्ने, म्याद नाघेका वस्तु बिक्रीस्थलबाट हटाएर अलग राख्ने लगायतका निर्देशन दिएको छ। साथै, ग्यास अभावका बेला वितरणमा कुनै भेदभाव नगर्न र अभिलेख राखेर मात्र बिक्री गर्न पनि सचेत गराइएको छ।
कार्यक्रमको नेतृत्व गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले गरेका थिए भने उपाध्यक्ष पञ्चमाया गुरुङको समेत उपस्थिति रहेको थियो। त्यस्तै खाद्य डिभिजन प्रमुख ज्योति आचार्य, खाद्य निरीक्षण अधिकृत सन्तोष थापा मगर, प्रहरी नायब निरीक्षक ईश्वर दुलाल, सूचना प्रविधि अधिकृत विशाल न्यौपाने, राजश्व शाखा प्रमुख राधिका श्रेष्ठ लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यसैगरी, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराई, रेवान तनहुँका अध्यक्ष जितेन्द्र भूमी, क्षेत्रीय होटल संघ बन्दीपुरकी अध्यक्ष फूलमती थापा तथा उद्योग वाणिज्य संघ बन्दीपुरका अध्यक्ष बुद्धिकुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
अनुगमनले बजारमा खाद्य सुरक्षाको अवस्था सुधार गर्न तथा उपभोक्ताको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


























