महोत्सवकाे भलिबलमा आज फाइनल भिडन्त : बौद्धिकाली र अर्जुनचौपारी आमनेसामने

महोत्सवकाे भलिबलमा आज फाइनल भिडन्त : बौद्धिकाली र अर्जुनचौपारी आमनेसामने

दुलेगौंडा, १७ चैत । पाँचौँ शुक्लागण्डकी महोत्सवअन्तर्गत जारी अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आज निर्णायक चरणमा प्रवेश गर्दैछ। प्रतियोगिताको फाइनलमा बौद्धिकाली गाउँपालिका र अर्जुनचौपारी गाउँपालिका आमनेसामने हुँदैछन्।
सोमबार सम्पन्न सेमिफाइनल खेलमा अर्जुनचौपारीले पुतलीबजारलाई रोमाञ्चक ३–२ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै बौद्धिकालीले शुक्लागण्डकी ‘ए’ लाई समान ३–२ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
आज बिहान तेस्रो स्थानका लागि पुतलीबजार र शुक्लागण्डकी ‘ए’ बीच प्रतिस्पर्धा हुनेछ भने त्यसपछि बिहान ११ बजे उपाधिका लागि फाइनल खेल हुने प्रतियोगिता संयोजक उपेन्द्र तिमिल्सिनाले जानकारी दिए।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको प्रतियोगितामा ११ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टोलीले ५० हजार र चौथो हुने टोलीले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेन्डर, ब्लकर, कोच र बेस्ट सर्भरलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

शुक्लागण्डकी नगरपालिकाको संरक्षकत्व तथा महिला उद्यमी विकास समिति र वडा व्यवस्थापन समितिहरूको सह–आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सूचना केन्द्र र स्वास्थ्य शिविरसहित कुल १७५ स्टल समावेश गरिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page