ढोरबराही क्षेत्रमा बजार अनुगमन : म्याद गुज्रेका खाद्य पदार्थ जफत, अखाद्य रङ प्रयोगमा कडाइ

ढोरबराही क्षेत्रमा बजार अनुगमन : म्याद गुज्रेका खाद्य पदार्थ जफत, अखाद्य रङ प्रयोगमा कडाइ

दमौली। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका कमजोरी बढ्दै गएको गुनासोपछि तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा व्यापक बजार अनुगमन गरिएको छ। एकीकृत सेवा कार्यालय तनहुँको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा सम्पन्न अनुगमनमा विभिन्न निकायको सक्रिय सहभागिता रहेको थियो ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरी प्रसाद रेग्मी, खाद्य डिभिजन प्रमुख ज्योति आचार्य, शुक्लागण्डकी नगरपालिकाका प्रशासनिक अधिकृत रामचन्द्र सुवेदी, खाद्य निरीक्षक सन्तोष थापा लगायत सञ्चारकर्मी, सुरक्षाकर्मी तथा नगरप्रहरीको उपस्थिति रहेको थियो।


टोलीले विशेष गरी वडा नं. ८ र ९ अन्तर्गत पर्ने धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको ढोरबराही मन्दिर आसपासका होटल तथा खाद्यान्न पसलहरूलाई लक्षित गर्दै करिब १५ वटा व्यवसायमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा कतिपय होटल तथा पसलमा गम्भीर लापरबाही फेला परेको छ। सुवेदी होटल रेष्टुरेन्ट एण्ड लजमा प्रयोग भइरहेको खाने तेल गुणस्तरहीन देखिएको थियो भने ‘रियल जुस’ म्याद गुज्रेको अवस्थामा भेटिएको छ। त्यस्तै, थापा होटल दर्ता नै नगरी सञ्चालन गरिएको र सरसफाइको अवस्था समेत अत्यन्त कमजोर रहेको पाइएको छ।


ढोरबराही खाजा घरमा म्याद नाघेका कोल्ड ड्रिंक्स (स्प्राइट, कोक, ड्रागन बियर) फेला परेका थिए भने केरा छिटो पकाउन प्रयोग गरिने अखाद्य रसायनयुक्त रातो झोल समेत बरामद गरिएको छ, जसले उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिएको अनुगमन टोलीले जनाएको छ।
वडा नं. ८ स्थित होटल पोखरेलमा फेन्टा र बिस्कुट म्याद गुज्रेको अवस्थामा भेटिएपछि तत्काल जफत गरी व्यवसायीलाई सचेत गराइएको छ। त्यस्तै, ए.एस. स्टोर्सबाट लिची जुस ४८ पिससहित माउन्टेन ड्यु, दालमोट, फेन्टा, चाउचाउ र स्प्राइटजस्ता विभिन्न म्याद नाघेका सामग्री जफत गरिएको छ।
यसबाहेक, पानीपुरी, चटपट, जेरी र समोसा बेच्ने ठेलाहरूमा अखाद्य रङ प्रयोग गरिएको पाइएपछि ती सामग्री जफत गरी नष्ट गरिएको छ भने पत्रिकामा खानेकुरा राख्ने प्रचलनसमेत हटाउन निर्देशन दिइएको छ।
अनुगमनका क्रममा अधिकांश व्यवसायीलाई सरसफाइ, खाद्य गुणस्तर र कानुनी प्रक्रिया पालना गर्न कडा निर्देशन दिइएको छ। सम्बन्धित अधिकारीहरूले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।

अनुगमन टोलीका अनुसार यस प्रकारका निरीक्षणलाई आगामी दिनमा अझ सशक्त र निरन्तर बनाइने छ, ताकि बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन सकियोस्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page