व्यास नगरमा आइतबार बिदा विवाद चर्कियो, शिक्षक–अभिभावकबीच मतभेद तीव्र

व्यास नगरमा आइतबार बिदा विवाद चर्कियो, शिक्षक–अभिभावकबीच मतभेद तीव्र



दमौली, वैशाख १४
व्यास नगरपालिका क्षेत्रमा आइतबार विद्यालय सञ्चालन गर्ने वा बिदा दिने विषयमा विवाद झनै चर्किएको छ। नगरपालिकाले निजी तथा सरकारी दुवै विद्यालय आइतबार खुला राख्ने निर्णय गरेपछि शिक्षक, अभिभावक र सरोकारवालाबीच मतभेद तीव्र बनेको हो।
संघीय सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेपछि पनि व्यास नगरभित्रका विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहँदा बहस थप पेचिलो बनेको छ। केही अभिभावकहरूले आइतबार पनि विद्यालय खुल्दा बालबालिकाको पढाइ निरन्तर हुने र घरमा अनावश्यक बसाइ घट्ने तर्क राखेका छन्।
तर शिक्षकहरूको एक समूह भने सरकारको निर्णयअनुसार आइतबार बिदा हुनुपर्ने अडानमा देखिएको छ। उनीहरूले बिदा कटौती, असमान कार्यभार तथा सेवा–सुविधामा विभेद हुन सक्ने भन्दै असन्तुष्टि जनाएका छन्। “राजपत्रमा प्रकाशित निर्णयलाई बेवास्ता गरेर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुँदैन,” एक शिक्षकले बताए। उनीहरूले अन्य सरकारी कर्मचारीसरह सेवा–सुविधा पाउनुपर्ने र फरक व्यवहार गर्न नहुने माग पनि अघि सारेका छन्।
यता, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षकहरूको मर्म बुझ्नुपर्नेमा जोड दिएका छन्। उनले बर्खे बिदा तथा दशैं–तिहार बिदा कटौती गरेर आइतबार बिदा दिने विषयमा संघले दबाब नदिएको स्पष्ट पार्दै स्थानीय आवश्यकता अनुसार बिदा व्यवस्थापन गर्नुपर्ने धारणा राखे। साथै, टाढाबाट आउने शिक्षकहरूको समस्या र भौगोलिक अवस्थालाई समेत ध्यान दिनुपर्ने उनले बताए।
विद्यालय प्रशासन र स्थानीय तह भने अभिभावकको माग, निजी विद्यालयसँगको प्रतिस्पर्धा र शैक्षिक गुणस्तर कायम राख्ने दबाबबीच निर्णय लिन कठिन भएको बताउँछन्। केही विद्यालयहरूले बिदा समायोजन गर्ने संकेत दिएका छन्, तर एकीकृत र स्पष्ट निर्णय भने अझै सार्वजनिक हुन सकेको छैन।


यसबीच, सरोकारवालाहरूले शिक्षक, अभिभावक र स्थानीय तहबीच त्रिपक्षीय सहमति र समन्वयमार्फत समाधान खोज्नुपर्ने सुझाव दिएका छन्। अन्यथा, जारी विवादले समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page