प्रविधिको सहायताले अध्ययनमा आत्मनिर्भर बन्दै अमरसिंह माविमा पढ्ने तनहुँका पाेख्रेल
पोखरा, तनहुँ — अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत तनहुँका एक विद्यार्थीले सहायक प्रविधिको प्रयोगले आफ्नो अध्ययन जीवन सहज र आत्मनिर्भर बनेको बताएका छन्।
तनहुँ घर भइ हाल पोखरामा बसोबास गर्दै आएका विद्यार्थी प्रतिक पोख्रेलले सुरुवाती समयमा ब्रेल लिपिमा अध्ययन गर्दा विभिन्न कठिनाइहरू भोग्नुपरेको अनुभव सुनाए। उनका अनुसार ब्रेलमा लेख्दा समय धेरै लाग्ने, लेखिएका सामग्री मेटिने वा हराउने समस्या हुने तथा लेखाइ सच्याउन निकै झन्झटिलो हुने गर्थ्यो।
“गल्ती तुरुन्त थाहा नहुने र पछि सच्याउन गाह्रो हुने भएकाले अध्ययनमा धेरै चुनौती हुन्थ्यो,” पोख्रेलले भने।
कक्षा ८ देखि उनले ल्यापटप र NVDA (NonVisual Desktop Access) सफ्टवेयरको प्रयोग सुरु गरेपछि भने अध्ययन शैली नै परिवर्तन भएको उनले बताए। डिजिटल माध्यममा लेख्दा गल्ती तुरुन्तै पत्ता लाग्ने र सजिलै सच्याउन सकिने भएकाले अध्ययनमा सहजता आएको उनको भनाइ छ।
उनका अनुसार सहायक प्रविधिको प्रयोगले समय बचत हुनुका साथै आफूलाई आत्मनिर्भर भएर अध्ययन गर्ने अवसर प्राप्त भएको छ। अध्ययनसँगै दैनिक गतिविधि र मनोरञ्जनमा समेत यसले ठूलो सहयोग पुर्याएको उनले बताए।

सहायक प्रविधिलाई उनले आफ्नो “भविष्य निर्माणको बलियो आधार” का रूपमा वर्णन गरेका छन्। उनलेे प्रविधि सम्बन्धि यश बिषयमा प्रतिस्पर्धामा भाग लिएको भन्दै सबैकाे साथ र सहयोगकाे अपेक्षा गरेको बताए ।


























