व्यास–५ साँगे–निबुवाखोलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, पहिलो दिन रोमाञ्चक प्रतिस्पर्धा

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगे–निबुवाखोलास्थित खेलमैदानमा खुल्ला वडा स्तरीय प्रथम ‘द नाइनटिज’ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। जेठ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ‘द नाइनटिज युवा क्लब’को आयोजनामा सुरु भएको हो।
स्थानीय युवाको प्रतिभा उजागर गर्दै खेलकुदमार्फत व्यास नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।
प्रतियोगिताको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले भव्य समारोहबीच गरेका छन्। कार्यक्रममा क्लबका अध्यक्ष एककुमार श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार (हिमाल) श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन युनिक थापाले गरेका थिए भने स्वागत मन्तव्य शंकर ओझाले राखेका थिए।

प्रतियोगितामा पहिलो दिन भएका खेलहरूमा आयोजक द नाइनटिज युवा क्लब व्यास–५, तनहुँ (टिम ‘बि’) ले देउराली युवा क्लब, कास्कीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ। त्यसैगरी शुक्लागण्डकी नगरपालिका–३, तनहुँ ले नवएकता युवा क्लब, नेपालटारलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ।
यस्तै बन्दीपुर गाउँपालिका–३ ले रानिस्वारा युवा क्लब, म्याग्दे–७ माथि जित हात पारेको छ भने छाव्दी बाराही युवा क्लब, व्यास नगरपालिका ले पयर युवा क्लब, म्याग्दे गाउँपालिकालाई पराजित गर्दै विजयी बनेको क्लबका अध्यक्ष एककुमार श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ३३,३३३, द्वितीयलाई रु. २२,२२२ र तृतीयलाई रु. ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार व्यास–५ बरबोटेका तथा हाल दक्षिण कोरियामा रहेका आनन्द लामिछानेले प्रायोजन गरेका छन्। दोस्रो पुरस्कार केम्यान आइल्यान्ड्समा रहेका अमृत गैरेले तथा तृतीय पुरस्कार साउदी अरेबियामा रहेका आशिक श्रेष्ठले प्रायोजन गरेका छन्।



























