कलेस्ती खोलामा तटबन्धसहित नयाँ पुल निर्माणका लागि टेन्डर खुल्दै
दमौली । तनहुँको व्यास नगरपालिका क्षेत्रमा पर्ने कलेस्ती खोलाको पुल स्तरोन्नति गरिने भएको छ। हाल खोलामाथि स्टिल संरचनाको पुल सञ्चालनमा रहे पनि साँघुरो, पुरानो र आसपासको पहुँचमार्ग व्यवस्थित नहुँदा स्थानीयले वर्षौंदेखि असुविधा भोग्दै आएका छन्। त्यसलाई थप सुरक्षित, व्यवस्थित र दीर्घकालीन बनाउने उद्देश्यले व्यास नगरपालिकाले निर्माण प्रक्रिया अघि बढाएको हो।
नगरपालिकाले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरेको छ भने आगामी आर्थिक वर्ष थप ४० लाख बजेट छुट्याएर कुल १ करोड २० लाख रुपैयाँ लागतमा तटबन्धसहित पुल तथा आसपासको संरचना निर्माण गर्ने तयारी गरेको जनाएको छ।
नगर प्रमुख बैकुण्ठ न्यौपाने का अनुसार निर्माणका लागि यही हप्ताभित्र टेन्डर आह्वान गरिनेछ। उनले आफ्नै कार्यकालभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाइएको बताए।
हाल रहेको स्टिल पुलबाट स्थानीयको आवतजावत भइरहे पनि एकतर्फी जस्तो साँघुरो संरचना, जोडिने बाटोको असहज अवस्था र खोलाको किनार कटानका कारण जोखिम रहने गरेको स्थानीय बताउँछन्। विशेषगरी वर्षायाममा खोलामा बहाव बढ्दा पुल आसपासको क्षेत्रमा समस्या हुने गरेको छ।
पुल स्तरोन्नतिसँगै तटबन्ध निर्माण भएपछि कटान नियन्त्रण हुनुका साथै पुलको पहुँचमार्ग थप सुरक्षित हुने अपेक्षा गरिएको छ। यसले स्थानीय बस्तीबीचको दैनिक आवतजावत सहज बनाउने, विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सुविधा हुने, कृषि उपज बजारसम्म लैजान सहज हुने र आपतकालीन अवस्थामा बिरामी ओसारपसारमा समेत राहत पुग्ने विश्वास गरिएको छ।

स्थानीयका अनुसार अहिले पनि पुल भए पनि यसको दीर्घकालीन व्यवस्थापन र दुवैतर्फको संरचना मजबुत बनाउनुपर्ने आवश्यकता लामो समयदेखि उठ्दै आएको थियो। नगरपालिकाले अब त्यसैलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो। पुल निर्माण तथा स्तरोन्नतिसम्बन्धी प्रक्रिया अघि बढेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ।




























