ऋषिङमा रास्वपा कमजोर! पालिका अधिवेशन नै हुन सकेन, पालिका गठन नगरी जिल्ला अधिवेशन

ऋषिङमा रास्वपा कमजोर! पालिका अधिवेशन नै हुन सकेन, पालिका गठन नगरी जिल्ला अधिवेशन

दमौली, जेठ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते दमौलीमा हुने तयारी भइरहेका बेला ऋषिङ गाउँपालिकामा भने पालिका अधिवेशन नै हुन नसकेको तथ्य बाहिरिएको छ।
पार्टीको विधानअनुसार पालिका अधिवेशन गर्न कम्तीमा ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएको हुनुपर्छ। तर ऋषिङका अधिकांश वडामा आवश्यक सदस्य संख्या नै नपुगेपछि वडा समिति गठन हुन नसकेको र त्यसकै असर पालिका अधिवेशनमा परेको बताइएको छ।
वडा समिति गठनका लागि कम्तीमा २१ जना सदस्य आवश्यक पर्ने व्यवस्था छ। तर केही वडामा उक्त संख्या नै नपुगेपछि वडा अधिवेशन हुन सकेन। केही वडामा अधिवेशन सम्पन्न भए पनि समग्रमा ७० प्रतिशतको मापदण्ड पूरा नभएकाले पालिका अधिवेशन रोकिएको हो।
यसअघि ऋषिङ गाउँपालिकामा अर्जुन रानाभाट संयोजकको जिम्मेवारीमा थिए। तर संगठन विस्तारमा अपेक्षित उपलब्धि हासिल हुन नसक्दा पालिका अधिवेशनको आधारसमेत तयार हुन नसकेको स्थानीय नेताहरू बताउँछन्।
रास्वपाले तनहुँका अन्य नौ पालिकामा भने नयाँ नेतृत्व चयन गरिसकेको छ। व्यासमा चुडामणि दाहाल, भानुमा विष्णुप्रसाद पोख्रेल, भिमादमा उत्तम सुवेदी, शुक्लागण्डकीमा हरिबहादुर खड्का, आँबुखैरेनीमा राम श्रेष्ठ, देवघाटमा बलबहादुर क्षेत्री, घिरिङमा प्रेम थापा, बन्दीपुरमा शम्भु श्रेष्ठ तथा म्याग्देमा मनोज अधिकारी नेतृत्वमा आएका छन्।
तर ऋषिङमा पालिका अधिवेशन नै हुन नसक्दा जिल्लाकै संगठनात्मक अवस्थाबारे प्रश्न उठ्न थालेको छ। एकातर्फ पालिका संरचना पूर्ण हुन नसकेको अवस्था छ भने अर्कोतर्फ जिल्ला अधिवेशनको तयारी तीव्र बनाइएको छ।
यसैबीच जेठ २४ गते हुने प्रथम जिल्ला अधिवेशनमा सभापति पदका लागि डा. शेषरमण न्यौपाने, विष्णु पन्त र विश्व वास्तोलाबीच प्रतिस्पर्धा हुने चर्चा छ। उपसभापतिमा पदमराज न्यौपाने, सुन्दर बस्याल र किसान प्रधानको नाम चर्चामा छ भने सचिवमा अनिल श्रेष्ठको सम्भावना बलियो मानिएको छ।
पार्टीभित्र क्षेत्रीय र भौगोलिक सन्तुलन मिलाउने प्रयाससमेत भइरहेको स्रोतको दाबी छ। त्यसअनुसार पद बाँडफाँटको समीकरण बदलिन सक्ने चर्चा पनि चलिरहेको छ।

जिल्ला अधिवेशनको माहोल तातिरहेका बेला ऋषिङमा भने पालिका अधिवेशनसमेत हुन नसक्नु रास्वपाको संगठनात्मक कमजोरीको संकेतका रूपमा हेरिएको छ। जिल्लाभर नेतृत्व चयनको प्रक्रिया अघि बढ्दा ऋषिङ भने अझै आधारभूत संरचना निर्माणकै चरणमा अल्झिएको देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page