दमौली बजारका अव्यवस्थित संरचनामाथि व्यास नगरपालिकाको कडा कदम
दमौली, जेठ २२ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको छ।
नगर कार्यपालिकाको २८६ औँ बैठकले दमौली बजारमा केही व्यवसायीले सडक पेटी र सार्वजनिक क्षेत्र अवरुद्ध हुने गरी बनाएका पक्की संरचना, टिनका हालिएका छाना तथा अन्य अवरोध हटाउन सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार ३५ दिनभित्र सम्बन्धित पक्षले आफैं संरचना नहटाए नगरपालिकाले हटाउनेछ। नगरपालिकाले बजारको सौन्दर्य, पैदलयात्रुको सहज आवागमन तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।

यसअघि पनि दमौली बजारको ट्राफिक व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्ने र परीक्षण अवधिपछि आवश्यक थप निर्णय लिने कार्यपालिकाले जनाएको थियो । नगरपालिकाको यो कदमले सार्वजनिक स्थान अतिक्रमण नियन्त्रण र व्यवस्थित बजार निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।





























