हङकङमा २१३औँ भानु जयन्ती मनाइयो

हङकङमा २१३औँ भानु जयन्ती मनाइयो


हङकङ, साउन २ – नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती हङकङमा पनि भव्य रूपमा मनाइएको छ। तनहुँ समाज हङकङको आयोजनामा जुलाई १२, २०२६ (आइतबार) ब्लु ओसन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा साहित्यप्रेमी नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यवाहक अध्यक्ष रोशन गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष तेज गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। पूर्वअध्यक्ष प्रेम गुरुङ, महिला विभाग अध्यक्ष हर्कुमाया थापा तथा संस्थापक सदस्य एवं सल्लाहकार लाल थापा अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
उपाध्यक्ष सुबित गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हेम थापाले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा सहभागीहरूले कविता, लेख, निबन्ध तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेका थिए। विश्वविद्यालयमा अध्ययनरत आकाश आले र आभाष आलेले आफ्नै सिर्जित कविता प्रस्तुत गरेका थिए भने आयुष्मा आलेले आदिकवि भानुभक्तको जीवन, व्यक्तित्व र नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानबारे निबन्ध वाचन गर्नुभएको थियो।
त्यसैगरी निवर्तमान अध्यक्ष तेज गुरुङ, महिला विभाग उपाध्यक्ष अरुणा आले, वरिष्ठ उपाध्यक्ष रोशन गुरुङ, उपाध्यक्ष सुबित गुरुङ तथा प्रवक्ता विपिन थापाले पनि आफ्ना सिर्जना र कविता प्रस्तुत गरी कार्यक्रमलाई साहित्यिक बनाएका थिए।


कार्यक्रमको समापन गर्दै कार्यवाहक अध्यक्ष रोशन गुरुङले विदेशमा रहेका नेपालीबीच भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि अझ व्यापक रूपमा भानु जयन्ती मनाइने विश्वास व्यक्त गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page