भानु नगरपालिकामा ६ करोड ४७ लाख बेरुजु, १०४ योजना कार्यान्वयन भएनन्
तनहुँ, साउन ३ – महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले भानु नगरपालिकामा आर्थिक अनुशासन, बजेट कार्यान्वयन, राजस्व संकलन र सार्वजनिक खरिदमा गम्भीर कमजोरी देखाएको छ।
प्रतिवेदनअनुसार नगरपालिकामा ६ करोड ४७ लाख १८ हजार रुपैयाँ बेरुजु कायम भएको छ। यसमध्ये १ करोड ३७ लाख ७७ हजार रुपैयाँ प्रमाण पेश गर्नुपर्ने, ४ करोड ५८ लाख ८८ हजार रुपैयाँ नियमित गर्नुपर्ने र ५० लाख ५३ हजार रुपैयाँ असुलउपर गर्नुपर्ने उल्लेख गरिएको छ।
नगरपालिकाले स्वीकृत ५४५ योजनामध्ये ४४१ योजना मात्र सम्पन्न गरेको छ भने १०४ योजना कार्यान्वयन नै हुन सकेनन्। यसले योजना छनोट र कार्यान्वयनमा कमजोरी रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, पूँजीगत बजेट खर्चको ६७.०८ प्रतिशत अन्तिम चौमासिकमा मात्रै खर्च गरिएको छ। पहिलो चौमासिकमा १६.२२ प्रतिशत र दोस्रो चौमासिकमा १६.७० प्रतिशत मात्रै खर्च भएको थियो। वर्षको अन्त्यमा हतारमा खर्च गर्दा विकास निर्माणको गुणस्तरमा प्रश्न उठ्ने महालेखाले औंल्याएको छ।
राजस्वतर्फ पनि नगरपालिकाको अवस्था सन्तोषजनक देखिएको छैन। सम्पत्ति कर तथा भूमिकर लक्ष्यको ५७.७८ प्रतिशत मात्र उठेको छ भने व्यवसाय कर २१.९३ प्रतिशत मात्रै असुल भएको छ। यस्तै, बहाल बिटौरी शुल्कबाट एक रुपैयाँ पनि असुल हुन सकेन। व्यवसाय दर्ता तथा नवीकरण शुल्कतर्फ १ लाख ३१ हजार रुपैयाँ राजस्व गुमेको प्रतिवेदनमा उल्लेख छ।
महालेखाले नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन नसकेको, सार्वजनिक खरिद प्रक्रिया, सम्पत्ति अभिलेख, सार्वजनिक सुनुवाइ, करदाता अभिलेख, विद्यालय अनुगमन, जिन्सी व्यवस्थापन तथा आर्थिक प्रशासनका विभिन्न पक्षमा कानुनअनुसार काम नगरेको औंल्याएको छ।

यस्तै, गत आर्थिक वर्षका २९ वटा योजना तथा कार्यक्रमको भुक्तानी चालु आर्थिक वर्षमा गरिएको उल्लेख गर्दै यसले आगामी वर्षको बजेटमा अनावश्यक दायित्व सिर्जना गरेको प्रतिवेदनले जनाएको छ।
महालेखा परीक्षकले भानु नगरपालिकालाई आर्थिक अनुशासन कायम गर्दै आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न, राजस्व संकलन प्रभावकारी बनाउन, सार्वजनिक खरिद कानुनको पूर्ण पालना गर्न तथा योजना कार्यान्वयनलाई समयमै सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।


























