९ करोडको लागतमा बनेको ऋषिङ्ग आधारभूत अस्पतालका लागि गण्डकी प्रदेश सरकारबाट स्वास्थ्य उपकरण सहयोग

९ करोडको लागतमा बनेको ऋषिङ्ग आधारभूत अस्पतालका लागि गण्डकी प्रदेश सरकारबाट स्वास्थ्य उपकरण सहयोग


तनहुँ, साउन ८ – तनहुँको ऋषिङ्ग गाउँपालिका–४ भिरकोटमा करिब ९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको रिसिङ आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको छ।
गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा गाउँपालिकाको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेसँग भेट गरी अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्थापनका विषयमा छलफल गरेको थियो।
भेटका क्रममा गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराइदिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो। त्यसलगत्तै गण्डकी प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री सहयोगस्वरूप उपलब्ध गराएको अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए।
उनका अनुसार प्रदेश सरकारको सहयोगसँगै अस्पताल सञ्चालनको तयारीले थप गति लिएको छ। अब आवश्यक व्यवस्थापन पूरा गरी छिट्टै अस्पतालबाट नियमित स्वास्थ्य सेवा सुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
रिसिङ गाउँपालिका–४ भिरकोटमा निर्माण सम्पन्न भएको उक्त आधारभूत अस्पताल सञ्चालनमा आएपछि रिसिङ गाउँपालिका तथा आसपासका बस्तीका हजारौं नागरिकले आफ्नै क्षेत्रबाट सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता समेत उल्लेखनीय रूपमा कम हुने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page