महर्षि वेदव्यास अवतरण दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न,सत्यवतीकी जेसिका पाण्डे प्रथम

महर्षि वेदव्यास अवतरण दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न,सत्यवतीकी जेसिका पाण्डे प्रथम


दमौली, साउन १२ — महर्षि वेदव्यास अवतरण दिवस–२०८३ को अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयकी जेसिका पाण्डे प्रथम भएकी छन्।
व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको आयोजना तथा वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको सहआयोजनामा सम्पन्न प्रतियोगितामा महर्षि वेदव्यास माध्यमिक विद्यालयका सुशान्त सुवेदी द्वितीय तथा सत्यवती माध्यमिक विद्यालयकै जोनिसा चिलवाल तृतीय भए। समीक्षा थापाले सान्त्वना र पराशर आवासीय माध्यमिक विद्यालयकी एन्जी मल्लले विशेष प्रोत्साहन पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः रु. ७ हजार, रु. ५ हजार, रु. ३ हजार र रु. १ हजार नगद पुरस्कार प्रदान गरिनेछ। विजयी विद्यार्थीलाई गुरु पूर्णिमाको अवसरमा बुधबार आयोजित विशेष समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिनेछ।
व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै तथा व्यास अध्येता काशीनाथ न्यौपानेलगायतले महर्षि वेदव्यासको ज्ञान, दर्शन र संस्कृतिको संरक्षणमा युवा पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।


प्रतियोगिताको मूल्याङ्कन प्रमुख निर्णायक डा. रामकुमार अधिकारी तथा निर्णायकहरू रुक्मिणी पौडेल र नारायणी अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कोषकी उपाध्यक्ष बीणा कैनीले गरेकी थिइन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page