सांसद भण्डारीद्धारा दमौली अस्पतालको निरिक्षण,ल्याबका सामाग्री हस्तान्तरण
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री सांसद शंकर भण्डारीले सोमबार दमौली अस्पतालको निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा सांसद भण्डारीले बिरामीहरु सँग प्रत्यक्ष भेटघाट गरी सेवा प्रवाहका सम्बन्धमा जानकारी समेत लिएका थिए । सांसद भण्डारीले निरीक्षणका क्रममा बिरामीहरुलाई सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका थिए ।

दमौली अस्पतालको स्तरोन्नति गर्ने विषयमा सम्बन्धित निकायमा पहल कदमी गर्ने समेत सांसद भण्डारीले निरिक्षणका क्रममा बताएका थिए । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सांसद भण्डारी गण्डकी प्रदेशका स्वास्थ्य सचिव विनोद विन्दु शर्मालाई निर्देशन समेत दिएका थिए । प्रदेश सरकारबाट गर्नुपर्ने कार्य गर्नुस केन्द्रबाट गर्नुपर्ने काम हामी गर्छौ गण्डकी प्रदेशका स्वास्थ्य सचिव शर्मालाई टेलिफोनमा निर्देशन दिदै सांसद भण्डारीले भनेका थिए ।यस विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सँग समेत कुराकानी गर्ने सांसद भण्डारीको भनाई रहेको छ । त्यस्तै दमौली अस्पतालको मर्मत कार्यका लागि बजेट उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसंग समेत सांसद भण्डारीले कुरा गरेका थिए ।त्यस्तै उनले देशैभरिका अस्पतालहरुमा विद्युत शुल्क छुट दिने नीति अगाडि बढाउन ऊर्जा राज्यमन्त्री सँग कुराकानी गरेका थिए ।
निरिक्षणका क्रममा सांसद भण्डारीले अस्पतालका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन समेत आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका थिए । राजधानी फर्किएपछि आवश्यक परे प्रधानमन्त्री सँग समेत भेटघाट गर्ने सांसद भण्डारीको भनाई थियो । सो अवसरमा दमौली अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा संविधान सभा सदस्य रामचन्द्र पोखरेल ,राष्ट्रिय सभा सदस्य पदम परियार ,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख विरेन्द्रबहादुर शाही , तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा सांसद भण्डारीले ल्याबका सामाग्री दमौली अस्पतालका अध्यक्ष वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
























