तनहुँका महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

तनहुँका महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

सामाजिक विकास कार्यालय तनहुँले दमौलीमा मङ्गलबारबाट महिलाको लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ। निजामती सेवामा महिलाको पहुँच पुर्‍याउन तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

तालिमको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै निजामती क्षेत्रमा महिलाको उपस्थिति बढाउन यस्ता प्रकारका तालिमले टेवा पुग्ने बताए । आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालन हुने महिला, बालबालिका तथा समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । 

महिलालाई निजामती सेवामा समान रूपमा पुर्‍याउने लक्ष्यका साथ ६० जनालाई तालिममा समावेश गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले बताए । २० दिने यस तालिमको लागि पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । विभिन्न विषयमा गरी १२ जना प्रशिक्षकहरूलाई तालिममा प्रशिक्षक रूपमा आमन्त्रण गरिएको उनले जानकारी दिए ।

गत वर्ष ४० जना महिलालाई तालिम प्रदान गरिएको कार्यालय जनाएको छ । कार्यालयले जनाए अनुसार यस वर्ष पनि ४० जनालाई प्रदान गरिने भनिएकोमा माग धेरै आएकोले ६० जनालाई समावेश गरिएको हो । आचार्यले भने , “निजामतीमा महिलाको आकर्षण बढाउनका लागि तालिमको आयोजना गरेका हौँ आवेदन धेरैको परेकाले यस वर्ष गत वर्ष भन्दा धेरै सहभागी हुने भएका छन् ।”

अप्राविधिक तर्फको (प्रशासन) सहायकस्तर चौथो तह (खरिदार सरह) कक्षा असाेज १ गतेबाट २० गते सम्म गरी २० दिन सञ्चालन हुनेछ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकालाई तालिम दिइएको छ । प्रशिक्षार्थीहरूको योग्यता र उमेरको हद लोक सेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ । आर्थिक रूपमा विपन्न, सामाजिक रूपमा पछि परेका, दलित र आदिवासी, जनजाति महिलालाई तालिममा विशेष प्राथमिकता दिइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page