तनहुँमा डेंंगुका बिरामी ३७ सय भन्दा धेरै
तनहुँमा तिव्र रूपमा डेंगु फैलिँदा सरकारी तथा निजी अस्पताल भरिभराउ भएका छन् । विशेषगरी आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजार क्षेत्र र सदरमुकाम दमौलीमा अधिकांश मानिस डेङ्गुले प्रभावित भएका छन् ।

तनहुँमा हाल सम्ममा तीन हजार ७ सय ४४ जनालाई डेङ्गुको सङ्क्रमण हुनुका साथै एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेंगु सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्तालमा बिरामीको भीड लागेको छ । अधिकारीका अनुसार व्यास नगरपालिका–७ का ५० वर्षाीया पुरुषको एक महिना अघि डेंगुको सङ्क्रमणबाट मृत्यु भएको थियो ।

जिल्लामा सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा एक हजार पाँच सय ६१ जनामा सङ्क्रमण भएको छ । व्यास नगरपालिकामा एक हजार तीन सय ९३ , शुक्लागण्डकी नगरपालिकामा चार सय ४० जनामा, बन्दीपुर गाउँपालिकामा एक सय ३९ जना र भिमाद नगरपालिकामा ३७ जनामा सङ्क्रमण भएको छ ।
यस्तै, भानु नगरपालिकामा ४०, म्याग्दे गाउँपालिकामा ४२ जनामा सङ्क्रमण भएको छ । ऋषिङ गाउँपालिका चार देवघाट गाउँपालिकामा ५३ र घिरिङ गाउँपालिकामा चार जनामा डेंगु सङ्क्रमण भएको छ । त्यस्तै अन्य जिल्ला घर भई हाल तनहुँमा बस्ने १९ जनामा डेङ्गुको सङ्क्रमण भएको छ ।
डेंगुको तिब्र रुपमा फैलिँदै गाएकोले चाडपर्वको समयमा समेत भर्ना गर्ने बिरामी आईरहेको दमौली अस्पतालका सिनियर अहेब दिनेश पण्डितले बताए । दैनिक चार सय जना बिरामी अस्पतालमा भर्ना हुन आउने गरेकोमा सबैभन्दा धेरै डेंगुको आउने गरेको पण्डितले जानकारी दिए । डेंगुको सङ्क्रमण एडिज जातिको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।
बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको बताइएको छ ।
जिल्लामा रोग फैलिदै गएपछि रोकथाम, नियन्त्रण र न्युनिकरणको लागि अभियान सञ्चालन गरिएकाे छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ डेंगु रोगको रोकथाम तथा न्यूनिकरण अभियानमा सञ्चालन गरेको छ । रेडक्रसले जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल मार्फत लामुखुट्टेको बास स्थान खोज्ने र लार्भा नष्ट गर्ने लगायतको काम भईरहेको नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले बताए ।
























