गर कवि मनमानी 

गर कवि मनमानी 
Oplus_0


मालिनी छन्द 
२०८१/०७/०९
अचम 
अभिनव व्यास 
तनहुँ, नेपाल । 

१.
समय सुरु भयो यो, प्रेमको वर्तमान 
थरर थरर हुन्छन् भ्रष्ट डाँका तमाम 
अचम सबल स्रष्टा राख्न जो कीर्तिमान 
सुगम सहज चेष्टा तीर हान्छन् कमान ।
२.
वरपर धुरिएका क्रान्तिकारी युवा छन् 
असल नियत बाँड्ने चेतनाका भुवा छन् 
समुचित हल बाँध्ने चेतनाका जुवा छन् 
धवलित सपनाका मूल फुट्दै कुवा छन् ।
३.
सुगम मन मिलेको प्रेयसी पाउनाले 
सरल भगवती झन् चाखमा आउनाले 
हरपल शुभ सोच्ने ध्यान आराधनामा 
हलचल छ बढेको काव्यको साधनामा ।
४.
मणिमय फल फल्दा बोटमा कल्प वृक्ष 
चहकमहक छायो कल्पनामा सदृश्य 
अचम शिशु बसेको जानकी कोख भित्र 
अभिनव कवि बन्ने चाहना होस् विचित्र ।
५.
असल सहज चाला नित्य पठ्ठो जवानी 
रहर अझ चढाउन् भव्य दुर्गा भवानी 
अचमसित बसेकी शारदा सोचनामा 
गर कवि मनमानी खेलको योजनामा । 
६.
कमलदल फुले झैं पाउँदा श्लोक दिव्य
हरपल कवितामा झुम्मिएकी पवित्र
अलमल अब त्यागी वाचनामा जुटेकी
हरफ हरफ चाल्दै मूल आफैं फुटेकी ।
७.
सकल सुलभ बन्ने खेलमा मेल गर्न
कविवर म त आएँ वाचना नव्य भर्न
सुललित छु बनेकी हेर्छ ऐना मलाई
कुतुहल कविताले भित्र ल्याई चलाई ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page