आबुखैरेनीका ४१ वटा पसलमा अनुगमन , म्याद नाघेका र अखाद्य बस्तु नष्ट
तनहुँकाे आबुखैरेनी बजारका ४१ वटा पसलमा अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिको संयोजक एंवम् पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वकाे टाेलीले बजार अनुगमन गरेको हाे ।

अनुगमनमा आबुखैरेनी गाँउपालिकाका प्रमुख शुक्र चुमान, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा , कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
यस्तै आबुखैरेनी उद्योग वाणिज्य संघका प्रतिनिधि, आबुखैरेनी इलाका प्रहरी कार्यालयका प्रमुख टेक प्रसाद सुवेदि, औषधी व्यवसायी संघका प्रतिनिधि , स्वास्थ्य शाखा संयोजक , प्रशासन एवम् गाउपालिकाका कर्मचारीहरुको संयुक्त अनुगमन भएको थियो । टोलिले आबुखैरेनी गाउपालिका वडा नं. ३ आबुखैरेनी बजारका विभिन्न किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ४१ वटा पसलमा अनुगमन गरेको थियो।

सो क्रममा रु १८ हजार ७० मुल्य बराबरको बिभिन्न म्याद नाघेका एवम् अखाद्य सामाग्रीहरु विस्कुट कोकोकोला, फेन्टा, लेज मिठाइ, चक्लेट, मिट मसला, कुरकुरे, माछा, पापड, फलफुल गरी विभिन्न पसलबाट सामान बरामद गरी नष्ट गराउनुका साथै व्यवसायीलाइ सचेत गराइएको थियो ।
























