दमाैलीमा “एक चिहान” नाटक मञ्चन हुने
साहित्यकार हृदयचन्द्र सिं प्रधानद्धारा लिखित साहित्यिक कृति “एक चिहान” नाटक दमौलीमा मञ्चन हुने भएको छ ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ र पोखरा थियटर कास्कीको संयुक्त आयोजना तथा ब्यास नगरपालिका तनहुँको प्रवर्द्धनमा आगामी मंसिर १ गते दुई सो तथा २ र ३ गते विद्यार्थीहरुका लागि दैनिक ३ सो नाटक मञ्चन हुने आयोजक गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले बताए ।

साहित्यकार हृदयचन्द्र सिं प्रधानद्धारा लिखित तथा परिवर्तनद्धारा नाट्य रुपान्तरण तथा निर्देशित नाटक एक चिहान लायन्स क्लब अफ सत्यवती र इनरव्हिल क्लब अफ दमौली तनहुँ सहआयोजकको भूमिकामा रहने छ।
उक्त नाटक ब्ल्याक बक्स अर्थात थियटरको निर्माण गरि तनहुँ उद्योग बाणिज्य संघको सभाहलमा मञ्चन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।
केही स्थानीय कलाकारको समेत उक्त नाटकमा भूमिका रहने बताइएको छ । तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा देखाइने नाटकमा टिकट दर रु ५ सय र १ हजार रुपैयाँ रहेकाे छ।
यस अगाडि दुलेगौंडामा अपार माया र साथ पाएको यस नाटकले दमौलीमा पनि उल्लेख्य साथ पाउने अपेक्षा राखेको निर्देशक परिवर्तनले बताए ।


























