शिक्षण पेशा छोडेर ड्रागन खेती गरेकी गौलीकाे वार्षिक आम्दानी २० लाख !

शिक्षण पेशा छोडेर तनहुँकी एक महिला कृषिमा रमाएकी छन् । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौलीले कृषि पेशाबाट वार्षिक रुपमा २० लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन् । गौली २०४५ साल देखि २०६१ साल सम्म १६ वर्ष शिक्षण पेसामा लागेकी थिइन् । प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराउनु भएको गौलीले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडी फल (ड्रागन फ्रुट) को व्यवसायिक खेती गरेकी छन् ।
प्रकृति र माटोलाई पुज्दै, यही क्षेत्रलाई साधना केन्द्रको रुपमा स्थापित गराउन कृषि पेशामा लागेको गौलीको भनाइ छ । वार्षिक रु २० हजार बुझाउने गरी नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर व्यवसाय थालेको गौलीले जानकारी दिइन् । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ मा ड्रागनका बिरुवा रोपेर शुरुवात गरेकी गाैलिले गत वर्षमा रु १२ लाखभन्दा बढीको ड्रागन फ्रुट बिक्री गरेकी थिइन् । प्रतिकिलो पाँच सय देखि छ सय रुपियाँ सम्म ड्रागन फ्रुट बिक्री गर्दै आएको गौलीले बताइन् । गौलीले दुई वर्ष अघि भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएकी थिइन् । कृषि फार्ममा करिब डेढ करोड रुपियाँ लगानी गरेको गौलीले ड्रागन फ्रुटका साथै मौसम अनुसार तरकारीहरु कुरिलो, गिठा, भ्याकुर, पिँडालु, अदुवा, कुभिण्डो, सिस्ने लगायतको खेती गरेकी छन् । यस वर्ष ड्रागन फल १६ लाख र बिरुवा चार लाख गरी २० लाखको बिक्री गरेको गौलीले बताइन् ।

प्रतिबिरुवा एक सयदेखि तीन सय रुपियाँसम्म बिरुवा बिक्री गरेको उनले बताइन् । गौली घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको अध्यक्ष समेत हुन् । धैर्यता पूर्वक कृषि कर्मलाई पूजाको रुप दिई व्यवसाय गरिन्छ भने नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास जागेको गाैलीले बताइन् ।

























