जनजागृति मावि भानु ३ ढुकुर्दीको ४५ औं वार्षिकोत्सव सम्पन्न
तनहुँकाे भानु नगरपालिका वडा नं ३ स्थित श्री जनजागृति मावि ढुकुर्दी तुरतुरेको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं तनहुँ २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले सामुदायिक विद्यालयहरुमा क्रमश: विद्यार्थी संख्या घट्दै गइरहेको वारेमा चिन्ता व्यक्त गरेका थिए । मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य नागरिकका लागि नि:शुल्क हुनुपर्नेमा भण्डारीकाे जाेड थियो । विद्यालय शिक्षाका समस्याहरु हल गर्नका लागि निर्माणाधीन विद्यालय शिक्षा विधेयकमा आँफूले यथोचित भूमिका खेल्ने प्रतिवद्धता समेत भण्डारीले व्यक्त गरेका छन् ।

कार्यक्रममा भानु नगरपालिकाका उपसचिव (नगर शिक्षा अधिकारी) ध्रुवराज पौडेलले भानु नगरपालिकाले शैक्षिक उन्नयनका लागि गरेका प्रयासहरूका बारेमा चर्चा गर्दै प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने मूलभुत विषयहरूका बारेमा प्रमुख अतिथि भण्डारी मार्फत प्रतिनिधिसभाकाे ध्यानाकर्षण गराएका थिए ।
विव्यस अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा कृष्णप्रसाद गाैतम , भानु नपा सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती ,प्रधानाध्यापक हितबहादुर अछामी , शिक्षक गजेन्द्र बस्ताकोटी लगायतले बाेलेका थिए ।
कार्यक्रममा बिद्यालयका शिक्षक तथा विद्यार्थी भाइबहिनीहरुले विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
























