बन्दीपुरकाे कुकुर्दीमा भएको गोरु जुधाइ प्रतियोगितामा नवीन गुरुङको गोरु प्रथम

तनहुँको बन्दिपुर गाउँपालिका–२ स्थित कुकुर्दीमा माघे सङक्रान्तीको अवसरमा आयोजित गोरु जुधाई प्रतियोगितामा स्थानीय नवीन गुरुङको गोरु प्रथम भएको छ । स्थानीय सन्तोष गुरुङको गोरुलाई पराजित गर्दै नविन गुरुङको गोरुले प्रथम पुरस्कार हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा नौ वटा गोरुले भाग लिएका थिए । गोरु जुधाईतर्फ प्रथम पुरस्कार रु.पन्ध्र हजार र दोस्रो पुरस्कार रु.७ हजार कृषकले प्राप्त गरेको नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिए ।
उक्त क्लबले विगतका वर्षहरुमा जस्तै “स्वास्थको लागि खेलकुद र युवाको लागि खेलकुद”भन्ने मुल नाराको साथ बिगत चार÷पाँच बर्ष अघिदेखि गोरु जुधाई,गाउँस्तरीय पुरुष तथा महिला भलिबल , घैंटाे फुटाइ , डाेरी तानी लगायतका प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
त्यसैगरी पुरुष तथा महिला भलिबल प्रतियोगितामा गोरखकाली युवा क्लब प्रथम भएको छ भने हिमालय युवा क्लब ठिन द्धितीय र जुनतारा युवा क्लब हलथुम्का तृतीय भएको छ ।
उनीहरुले क्रमश ः प्रथम पुरस्कार रु.४० हजार मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार रु.२५ हजार मेडल र प्रमाण पत्र र तेस्रो पुरस्कार रु.१५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका संरक्षक एवं खेल संयोजक श्रीप्रसाद पौडेलले बताए । पुरुष भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु.चार हजार ५ सय र महिला भलिबल प्रतियोगिताको दर्ता शुल्क रु.पाँच सय रहेको थियो । त्यसैगरी महिला भलिबल प्रतियोगितातर्फ कालिका मावि प्रथम भएको छ । प्रथम भएसंगै यस विद्यालयले रु.सात हजार पुरस्कार,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यसैगरी महिला डोरी तान्ने प्रतियोगितामा डुम्रिगैरा आमा समुह प्रथम भएको छने जनजागृति आमा समुह द्वितीय भएका छन् । उनीहरुले क्रमश ः रु.तीन हजार र एक हजार पाँच सय पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी घैटो फुटाई प्रतियोगितामा बन्दीपुर हलथुम्काका जेठा गुरुङ बिजयी भएका छन् । उनले रु.एक हजार पुरस्कार प्राप्त गरेकाे क्लबका सचिव सूर्य अधिकारीले जानकारी दिए ।
बिजयी प्रतियोगीलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री बस्यालले खेलको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि थप सहयोग पुग्नेमा जोड दिए ।
खेलका माध्यमबाट बन्दीपुरको पर्यटन प्रबद्र्धनार्थ विभिन्न खेल संम्बन्धि प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबले जनाएको छ ।
प्रतियोगिता सफल बनाउनका लागि बन्दीपुर गाउँपालिकाबाट रु. ६० हजार र बन्दीपुर भ्रमण बर्ष २०२५ बाट रु. १५ हजार सहयोग प्राप्त भएको क्लबकी कोषाध्यक्ष मिरामाया गुरुङले जानकारी दिइन् ।
बन्दिपुर भ्रमण बर्ष २०२५ को दोस्रो कार्यक्रम अन्तरगत स्थानिय सास्कृतिक कार्यक्रम, स्थानिय अर्गानिक खाना खाजाका स्टलहरु, स्थानिय उत्पादन खाध्यन्न मास, पिडालु, सिमल–तरुल, चामल, तरुल, भटमास, मस्याम, लोकल कुखुरा लगायतका बिक्री स्टलहरु राखिएको थियो ।

























