दुम्सीमा ०७८ सालमा निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रकाे ३ वर्षपछि उद्घाटन
तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा ०७८ सालमा निर्माण भएको कृषि उपज सङ्लन तथा बिक्री केन्द्रकाे ३ वर्षपछि माघ १ गते उद्घाटन भएको छ । गाउँमा उत्पादित माछामासु, दुध, तरकारी, फलफूललगायतका कृषि उपज सङ्कलन गरी सहज रूपमा बजारीकरण गर्न केन्द्र स्थापनाकाे लागि २०७८ सालमा बनाइएको उक्त भवन लामो समयदेखि अलपत्र परेको थियो । उक्त अलपत्र भवनलाइ सम्पन्न गरि मंगलबार एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका हुन् । सो अवसरमा न्यौपानेले यस प्रकारका सङ्लन केन्द्रहरूमार्फत् उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त गर्न सकोस् भन्नेमा चिन्तित भएकोले केन्द्र सञ्चालनको लागि आर्थिक सहयोग गरिएको नगर प्रमुख न्यौपानेको भनाई थियो ।

प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दुध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुहरूको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात समेत गर्ने गरी उत्पादनमा लाग्नु पर्ने बताए । वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबाली लगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न मद्धत पुग्ने बताए । निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले व्यावसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि आफ्नो कार्यकालमा निर्माण कार्य सुरु गरिएकोमा हाल सञ्चालनमा आउँदा खुसी लागेको बताएका थिए ।
कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुसी भएको सोही ठाउँस्थित शिसुवा भतेरी कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । उद्घघाटन कार्यक्रमको अवसरमा केन्द्र निर्माणमा योगदान दिएको भन्दै भवन निर्माण उपभोत्ता समितिका अध्यक्ष गोपाल सापकोटालाई सम्मान गरिएको थियो ।
व्यास नगरपालिकाको ३५ लाख ५१ हजार सहयोग र बाँकी जनश्रमदान गरी ४० लाख ७४ हजार तीन सय ५९ रुपियाँ लागतमा निर्माण गरिएको समितिका सचिव भरत केसीले जानकारी दिए । सोही ठाउँस्थित शिव माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले केन्द्र निर्माण भएसँगै खेर गएको साढे तीन रोपनी सार्वजानिक जग्गाको सदुपयोग भएको बताए । साथै रिजालले केन्द्रले निर्वाहमुखी किसानलाई व्यवसायिक बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । केन्द्र सदरमुकाम दमौली बजार नजिकै रहेकोले यहाँ छरिएर रहेको उपजको सङ्कलन गरी बजार सम्म पुर्याउन सहज हुने विश्वास गरिएको व्यास नगरपालिका वडा नम्बर १० का वडा सदस्य यज्ञप्रसाद शर्माले बताए । केन्द्रका आठ वटा सटरमा चार वटा कोठा बनाई दुध, तरकारी तथा फलफूल, माछामासु र दाना बिक्री कक्षा सञ्चालन गरिएको छ ।
























