गणेश माविको ७० औ वार्षिकोत्सब सम्पन्न
म्याग्दे गाउँपालिका वडा नम्बर ४ स्थित गणेश माध्यमिक विद्यालयको ७० औँ वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर मसराङ्गीको अध्यक्षतामा आयोजित कार्यक्रमको म्याग्दे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दीपक कुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या न्यून हुनुको पछाडि विभिन्न कारणहरू रहेको बताएका थिए। ग्रामीण क्षेत्रको बसाईसराई मुख्य समस्या भएको र यसलाई रोक्नु मुख्य चुनौतीको विषय भएको प्रमुख अतिथि श्रेष्ठको भनाइ थियो । उनले शिक्षकहरूले समय सापेक्ष आफूलाई अपडेट गर्दै लैजानुपर्नेमा जोड दिए । उनले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयले विभिन्न सहयोग गरिरहेको बताएका थिए।

कार्यक्रममा म्याग्दे गाउँपालिका गाउँ कार्यपालिकाका सदस्य बद्रिका भट्टराई घिमिरे, विद्यालयका संस्थापक परिवारका सदस्य शिक्षा प्रेमी गौरवराज राना, परशुराम राममाया छात्रवृत्ति कोषका संस्थापक प्रेमराज अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हेमलाल बिक, विद्यालयका पूर्व शिक्षक घनश्याम घिमिरे, विद्यालयका सहायक प्रधानाध्यापक अमरसिं आले लगायतले बोलेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराज घिमिरेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयमा स्थापित परशुराम राममाया छात्रवृत्ति अक्षयकोष बाट एसइई २०८० मा विद्यालयबाट सर्वोत्कृष्ट अङ्क प्राप्त दुई छात्र छात्रा बिन्दु गुरुङ र मनिष सुनारलाई २५/२५ सय रूपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको थियो भने विद्यालयमा सञ्चालित विभिन्न खेलकुद प्रतियोगितामा प्रथम द्वितीय तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।
























