दमाैली खानेपानीमा अधिकारी , हमाल र श्रेष्ठ द्वय बिच रस्साकस्सी:
दमाैली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।

त्यसको लागि अहिलेसम्म खानेपानीको नेतृत्व लिन ४ जनाले आकांक्षा देखाएका छन् । चारैजनाले मतदाता संग सम्पर्क र सहयोगका लागि भेटघाट एवम् टेलिफोन सम्पर्कलाई तिव्र बनाएका छन् ।

यही चैत ९ र १० गते हुने संस्थाको पाँचौ अधिवेशन तथा १३ औं साधारण सभाकाे लागि आंकाक्षा जाहेर गर्नेहरुमा माधव अधिकारी , राजकुमार श्रेष्ठ, बुद्धिमान श्रेष्ठ र टुकबहादुर हमाल रहेका छन् । आकांक्षी मध्ये अहिले अधिकारी सचिव हुँदै उपाध्यक्षमा छन् । उनले आफ्नाे जाने ठाउँ नैं अध्यक्ष मात्रै भएकोले सहयोग गर्न मतदातालाई भनेका छन् । यस्तै श्रेष्ठ अघिल्लो पटक नै अध्यक्षको दाबेदार भएपनि अन्तिम समयमा आएर वर्तमान अध्यक्ष बृषराज श्रेष्ठलाई निर्विरोध रुपमा छोडि दिएका उम्मेदवार हुन् । त्यसैले उनको पनि जाने ठाउँ अध्यक्ष नैँ भएको बताइएको छ । यद्यपि उनी हाल आदिकवि भानुभक्त क्याम्पसमा अध्यक्ष छन् ।
यस्तै अध्यक्षका अर्का आकांक्षी हमाल र राजकुमार कार्यसमितिकाे सदस्य भइसकेका तथा अन्य थुप्रै संघसंस्थाकाे नेतृत्व गरिसकेका अनुभवी व्यक्ति हुन् ।
हाल देखिएका सबै आकांक्षी काङ्ग्रेस पृष्ठभूमिका रहेकाले पनि उम्मेदवारहरूमा नेतृत्व वर्गको कसलाई आशिर्वाद मिल्छ उहीँ अध्यक्ष हुने करिब निश्चित जस्तै देखिन्छ ।
पृथ्वीराजमार्ग विस्तारकाे क्रममा खानेपानी पाइपमा समस्या भइरहेको र मर्मतकाे लागि खटिरहनु पर्ने समस्या एकातिर र अर्कोतिर दमाैलीमा सबै टाेलका उपभोक्तालाई समान खानेपानी बितरण हुन नसकिरहेको अवस्थालाई समाधान गर्न तथा संस्थालाई प्रयाप्त समय दिन सक्ने नेतृत्व अहिले आम उपभोक्ताले खाेजिरहेका छन् । पद लिन मात्रै मरिहत्ते गर्ने नभइ काम गर्न सक्ने व्यक्ति अहिलेकाे आवस्यकता भएको अधिकांश उपभोक्ताकाे भनाइ छ ।
यसपटक खानेपानीको बिधान परिवर्तन गरि टाेलमा रहेका सदस्यकाे आधारमा १० घर सदस्य बराबर एकजना लाई मतदान गर्ने अधिकारकाे रूपमा लिइने व्यवस्था मिलाइएको छ ।




































