प्रहरी बन्न नक्कली परीक्षार्थी बन्ने १९ वर्षीय ज्ञानता सक्कली प्रहरीकाे फन्दामा
प्रहरी बन्न नक्कली परीक्षार्थी बन्ने १९ वर्षीय ज्ञानता विश्वकर्मा सक्कली प्रहरीकाे फन्दामा परेकी छन् ।

पाेखरा महानगरपालिका वडा नं. ७ स्थित लोक सेवा आयोग, पोखरा कार्यालयको परीक्षा भवनमा संचालन भएको नेपाल प्रहरीको विज्ञापन नं. ०३/०८१-०८२ प्रहरी जवान (जनपद) पदको लिखित परिक्षामा दर्ता नं. ३३५९२ का परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्को व्यक्तिले परीक्षा दिएको देखिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई गएको प्रहरी टोलिले विश्वकर्मालाई पक्राउ गरेको हाे ।

धनकुटा पाख्रीबास नगरपालिका वडा नं. ५ बस्ने वर्ष १९ की ज्ञानता विश्वकर्मालाई अरुको नाममा परिक्षा दिँदै गरेको अवस्थामा पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्कीका सूचना अधिकारी प्र.ना.उ. बसन्त कुमार शर्माले बताए ।
























