विद्युत वितरण खैरेनीटार उपवितरण केन्द्रको उद्घाटन

नेपाल विद्युत्त प्राधिकरण तनहुँ वितरण केन्द्र खैरेनीटार उपवितरण केन्द्रको उद्घाटन गरिएको छ ।

सोमबार खैरेनीटारमा आयोजित एक कार्यक्रमका बीच सांसद शंकर भण्डारीले उपवितरण केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै सांसद भण्डारीले उपवितरण केन्द्र स्थापना सँगै तनहुँको क्षेत्र नं २ का ग्राहकहरुलाई प्रत्यक्ष सुविधा पुग्ने बताएका थिए । खासगरी शुक्लागण्डकी ,भिमाद, घिरिङ र ऋषिङका सर्वसाधारणहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने सांसद भण्डारीको भनाई रहेको थियो ।

त्यस्तै ग्राहकहरुले भोग्दै आउनु परेको विद्युतको समस्या तत्काल समाधान गर्न समेत सांसद भण्डारीले विद्युत्त प्राधिकरणलाई आग्रह गरेका थिए । गाम्रीण भेगमा जीर्ण अवस्थामा रहेका विद्युत्तका पोल र तारको परिवर्तन गर्नका लागि के कस्तो पहल गर्नुपर्छ त्यसका लागि आफ्नो तर्फबाट सक्दो प्रयास हुने समेत सांसद भण्डारीको भनाई रहेको थियो ।
उद्घाटन समारोहमा प्रदेश सांसदद्धय जीतप्रकाश आले र श्यामराज महत , भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी , शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित , ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ , घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा ,प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी , वडा अध्यक्षहरु बुद्धिबहादुर थापा र दीर्घबहादुर थापा , हिरा गुरूङ , नेपाल बिद्धुत प्राधिकरण तनहुँका प्रमुख विजय राज रेग्मी , केन्द्र प्रमुख माधव सापकोटा ,प्रकाश पाण्डे लगायतले बोलेका थिए ।

























