नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरेका एआईजी केसी सीआईबी प्रमुख !
नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन अघि बढाएका प्रहरी अधिकारी मनोज केसीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी पाएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सीआईबी प्रमुखका रूपमा सरुवा गर्ने निर्णय गरेसँगै उनलेे याे जिम्मेवारी पाएका हुन् ।

केसीलाई यसअघि तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसको दबाबका कारण जिम्मेवारीबाट हटाइएको थियो। उनले नेतृत्व गरेको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो। यही कारण उनी एमाले–कांग्रेस गठबन्धनको सरकारमा राम्रो पोष्टिङ पाउन सकेका थिएनन्।

हालैसम्म प्रदेश समन्वय विभागमा रहेका केसीले अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्दै २०७९ चैत १२ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेका थिए।
दुलाल र भण्डारीको बयानपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारी नै प्रकरणमा संलग्न रहेको खुलासा भएको थियो।
























