लमजुङको दुधपाेखरी गाउँपालिका द्वारा अस्थायी र करारका कर्मचारीकाे नियुक्ति खारेज
लमजुङको दूधपोखरी गाउँपालिकाले दरबन्दी बाहेकका अस्थायी र सेवा करारमा नियुक्त कर्मचारीको सम्झौता रद्द गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका निर्देशनअनुसार गाउँपालिकाले असोज २१ गतेदेखि लागू हुने गरी अस्थायी तथा करार सेवाका स्वास्थ्यकर्मी, शिक्षक, अन्य कर्मचारी र निजी सहायकहरूको नियुक्ति खारेज गरेको हो।

मन्त्रालयहरूबाट प्राप्त पत्रका आधारमा स्थानीय तहले स्वीकृत दरबन्दीभन्दा बाहिर अस्थायी वा करार सेवामा कर्मचारी राख्न नपाइने भनी निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिका बहादुर गोदारद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्देशनअनुसार यस कार्यालय अन्तर्गत कार्यरत अस्थायी नियुक्ति भएका तथा करार सेवाका कर्मचारीहरूको नियुक्ति र सम्झौता अर्को सूचना प्रकाशित नहुन्जेल रद्द गरिएको छ।’
गाउँपालिकाले मन्त्रालयहरूबाट प्राप्त पत्र तथा परिपत्र सूचनासँगै सार्वजनिक गरेको जनाएको छ।

























