नेपाल प्रहरीका ६ सय ६५ इन्स्पेक्टरको सरूवा
नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी)को असोज २८ गतेको निर्णयअनुसार देशभरका ६ सय ६५ निरीक्षकहरूको सरुवा तथा काज सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा)ले जारी गरेको सूचनाअनुसार यो सरुवा २०८१ साल कात्तिक महिनादेखि लागू हुनेछ। सरुवा भएका प्रहरी निरीक्षकहरूले कात्तिकदेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाटै प्राप्त गर्नेछन्।यो सरुवालाई प्रहरी संगठनको नियमित प्रशासनिक प्रक्रियाको एक महत्त्वपूर्ण हिस्सा मानिएको छ, जसले विभिन्न प्रहरी इकाईहरूमा नयाँ नेतृत्व प्रदान गर्ने र कार्यसम्पादनमा स्फूर्ति ल्याउने अपेक्षा गरिएको छ।

सरूवा सुची अनुसार अक्षय कुमार रावललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण, महाराजगंजबाट इलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीमा सरुवा गरिएको छ भने अजयजंग थापालाई प्रहरी वृत्त मालीगाउँबाट जिल्ला प्रहरी परिसर काठमाडौंको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा पठाइएको छ।
यस्तै अच्युत गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट इलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियामा सरुवा गरिएको छ भने अनिल कुमार मिश्रलाई नेपाल प्रहरी प्रदेश कार्यालय, विशेष इकाई वीरगञ्जबाट इलाका प्रहरी कार्यालय, डेढगाउँ, पूर्वी नवलपरासीमा सरुवा गरिएको छ।
यसैगरी, केन्द्रीय अनुसन्धान ब्यूरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष ब्यूरो जस्ता विशिष्टिकृत इकाईहरूमा कार्यरत निरीक्षकहरूलाई समेत विभिन्न जिल्ला तथा इलाका प्रहरी कार्यालयमा पठाइएको छ भने फिल्डमा कार्यरतहरूलाई त्यस्ता महत्त्वपूर्ण इकाईमा तानिएको छ।
सरुवाको कारणमा अधिकांशलाई ‘नियमित सरुवा’ भनिएको छ भने केही स्थानमा ‘बढुवा खाली’ भएका पदहरूमा पदपूर्ति गरिएको छ।
























