अस्थायी र करारका सय बढी कर्मचारी हटाउने हल्लाले व्यासमा हलचल

व्यास नगरपालिकामा अस्थायी र करार गरी एक सय भन्दा बढी कर्मचारी हटाउन पर्ने देखिएपछि ठुलै हलचल मच्चिएको छ । खर्च कटौती र कर्मचारीको स्वीकृत दरबन्दी कर्मचारी व्यवस्थापन समितिको प्रराम्भिक प्रतिवेदनले उक्त कुरा देखाएको हो ।

व्यास नगरपालिकाको स्वास्थ्य,शिक्षा र प्रशासन शाखामा कार्यरत अस्थायी र करारका कर्मचारी हटाउन लागेको भन्ने सन्दर्भमा कर्मचारीले प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साललाई हालै ज्ञापनपत्र बुझाएका छन् । समितिले प्रतिवेदन सुशासन समितिमा बुझाउन अगाडि उक्त ज्ञापनपत्र बुझाएका हुन् । सुशासन समितिले पास गरेर कार्यपालिका बैठकमा पेश गर्ने र त्यहीँबाट अन्तिम निर्णय हुने बताइएको छ । प्रतिवेदन बुझाउनु अगाडि कर्मचारीले प्रमुख लम्साललाई भेटि बाठो बनेर काम नगर्न सचेत गराएकाे सहभागी एक कर्मचारीले बताए । हामीले तपाईं हाम्रो बिरूद्धमा , हामीलाई हटाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ रे के हाे कुरा किन त्यस्तो गर्नुहुन्छ भनेर भन्यौं ती कर्मचारीले भने । तर उहाँले त्यस्तो बाहिर सुनिएको जस्तो हाेइन भन्नुभयो ती कर्मचारीले भने । जिल्लाका अन्य पालिकाले केही गरेका छैनन् , तर व्यासमा मात्रै ठुलै हल्ला मच्चाइएकाे छ ,यस्तो अवस्थामा तपाई खरायोकाे बेगमा हैन कछुवाकाे गतिमा बस्नुपर्छ , अरूतिर सबै ठाउँमा निकालेको अवस्थामा हामी पनि निस्किउँला ती कर्मचारीले भनेका छन् । जवाफमा प्रमुख प्रशासकिय लम्सालले बाहिर हल्ला फैलाएको जस्तो नभएको बताए । मैले नियम , माथिकाे परिपत्र अनुसार चल्ने हाे , अधिकार बाहिर गएर आफुले कुनै पनि निर्णय नगर्ने समेत उनलेे बताएको सहभागी कर्मचारीले बताएका छन् ।

यता समितिले बुझाएको प्रतिवेदन कार्यपालिका बैठकले अनुमोदन गरेपछि नामावली सहित प्रकाशित गरिने बताइएको छ । व्यास नगरपालिका सुशासन समितिका संयाेजक दलबहादुर दुराले याे बिषय अलि गम्भीर बिषय भएको बताए । हामीलाई प्रतिवेदन आएपछी कार्यपालिकामा पठाउने बारेमा छलफल हुने र कसरी अगाडि बढ्ने भन्ने निर्णय हुने दुराले बताए । कतिपय कर्मचारी हटाउँदा सेवाग्राहीकाे काम गर्न नसकिने अवस्था छ , काेहिलाइ राख्ने काेहिलाइ हटाउने गर्दापनी झन बिवाद हुन्छ , त्यसैले अहिले केही भन्न नसकिने उनलेे बताए ।
नगरपालिकाले अस्थायी र करार कर्मचारी हटाउँदा बार्षिक झण्डै रु.४ करोड व्यय कम पर्ने देखिएको छ । यस बिषयमा यस अगाडि नैं व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले अहिले समितिले अध्ययन गरिरहेको र समितिले प्रतिवेदन नबुझाउँदासम्म आफुले केही बोल्न नसक्ने बताइसकेका छन् । नगरपालिकाले अधिकाँश स्वयसेवक शिक्षकहरु रहेको र त्यहाँ दरबन्दी मिलान गरेर मात्रै उनीहरुलाई हटाउन सकिने बताएको छ । त्यस्तै करार र अस्थायी कर्मचारी हटाउँदा कयौं स्वास्थ्य इकाईहरु बन्द गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।
























