प्रदेश आयुर्वेद चिकित्सालयमा आज स्वर्णबिन्दु प्राशन खुवाउन बालबालिकाकाे भीड


प्रदेश आयुर्वेद चिकित्सालयमा आज स्वर्णबिन्दु प्राशन खुवाउन बालबालिकाकाे भीड लागेको छ । आयुर्वेदमा आज पहिलोपटक एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएकाे हाे ।

नेपाल सरकारको कार्यक्रम अनुसार आयुर्वेद चिकित्सालय दमौलीमा स्वर्णविन्दु प्राशन खुवाइएकाे प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका डा किरण पाैडेलले जानकारी दिए।

उनका अनुसार चिकित्सालयमा बिहान ७ बजेदेखि १० बजेसम्म बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएकाे छ । नेपालका २५ वटा जिल्लामा यस वर्षबाट स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु भएको भन्दै उनले प्रत्येक पुष्य नक्षत्रकाे समय पारेर बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने जानकारी दिए ।
डाक्टर पाैडेलका अनुसार कात्तिक २५ गते, मङ्सिर २२ गते, पुस २१ गते, माघ १८ गते, फागुन १६ गते, चैत १४ गते, वैशाख १०, जेठ ६ गते, असार ३ गते खुवाइनेछ ।
स्वर्णभष्म, विउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाएर चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइएकाे हाे । नेपाल सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा प्रत्येक महिनाको पुष्य नक्षत्रमा स्वर्णविन्दु प्राशन सेवन गराइने बताइएको छ।
स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्ने उनले बताए। साथै उनले ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी, एलर्जी भएका बालबालिकालाई भने यो खुवाउन नहुने स्पष्ट पारे।



























