म्याग्दे गाउँपालिका स्तरिय तेस्रो मणि कप फुटबल प्रतियोगिता मंसिर १७ गतेदेखि हुने
तनहुँकाे म्याग्दे गाउँपालिका स्थित छिम्लिस्वाँरामा रहेको श्री मणि युवा क्लवको २५ औं वार्षिकोत्सवको अवसरमा फुटबल प्रतियोगिता हुने भएको छ । सेभेन ए साइड फुटबल प्रतियोगिता यहि मंसिर १७ गतेदेखि २० गतेसम्म हुने क्लवका अध्यक्ष संगम थापाले बताए । फुटबल प्रतियोगिताबाट म्याग्दे क्षेत्रमा रहेका खेलाडीको क्षमता पहिचान गरी स्थानिय खेलाडीको मनोबल बढाउँदै फुटबल खेललाई म्याग्दे स्तरबाटै अगाडी बढाउने उद्धेश्य रहेको अध्यक्ष थापाले बताए । थोरै धन राशी पुरस्कार रहे पनि स्थानिय खेलाडीलाई आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर पाउने र आपसी समझदारी तथा भाईचारको सम्वन्ध प्रगाढ र एकताको सन्देश दिन फुटबल प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव पारस आलेले बताए ।

तत्कालिन छाङका मुखिया, नेपाली काँग्रेस नेता तथा प्रजातान्त्रिक योद्धा स्वर्गिय श्री मणिराज रानाको नाममा २०५७ सालमा स्थापना भएको क्लवले गतबर्ष पनि फुटबल प्रतियाेगिता आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम तथा द्धितिय हुने टिमलाई क्रमश ४० हजार र २५ हजार नगद तथा ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले बताए । आदर्श तारा मनहरी खेलमैदानमा हुने प्रतियोगितामा टिम दर्ता शुल्क ३ हजार ५ सय राखिएको क्लवका सल्लाहकार गाैरबराज रानाले बताए ।


























