म्याग्देमा घरदैलोमै व्यवसाय दर्ता तथा सूचीकृत अभियान प्रभावकारी बन्दै, व्यवसायी उत्साहित

तनहुँ — जनताको सुविधालाई मध्यनजर गर्दै म्याग्दे गाउँपालिकाले घरदैलोमै व्यवसाय दर्ता, नवीकरण तथा सूचीकृत सेवा उपलब्ध गराएपछि अभियान प्रभावकारी बन्दै गएको छ। म्याग्दे गाउँपालिकाको आयोजना तथा म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानप्रति व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको छ।
अभियानअन्तर्गत शुक्रबार मात्रै वडा नं. १ मा २५ जना व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण गराएका छन्। वडा नं. १ का अध्यक्ष मणिभद्र वाग्लेले दर्ता भएका व्यवसायीलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमले व्यवसायीहरूलाई खुसी बनाएको बताए। उनले व्यवसायलाई निरन्तरता दिँदै गाउँपालिकाको दिगो विकासमा योगदान दिन व्यवसायीलाई आग्रह गरे।
गाउँपालिकाभित्र सञ्चालनमा रहेका उद्योग तथा व्यापार व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए। पटक–पटक सूचना दिँदा पनि दर्ता वा सूचीकृत हुन नआएका व्यवसायीलाई लक्षित गरी अभियान अघि बढाइएको उनले बताए।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीले व्यवसायीको हितलाई केन्द्रमा राख्दै गाउँपालिकासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार होटल, किराना, कृषि, मासु पसल, स्टेशनरी, परामर्श सेवा, ब्युटी पार्लर, सप्लायर्सलगायतका व्यवसाय दर्ता तथा सूचीकृत भएका छन्।
व्यवसायीहरूको सहजताका लागि फोटोकपीलगायतका सेवा निःशुल्क उपलब्ध गराइएको उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए। व्यवसायीलाई सजिलो होस् भन्ने उद्देश्यले वडामै पुगेर सेवा प्रदान गरिएको उनले बताए।
यसअघि वडा नं. ३ र वडा नं. ६ मा पनि अभियान सञ्चालन भइसकेको छ। यसअघि कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले गरेका थिए।

घर–टोलमै सेवा पाएपछि उद्योगी–व्यवसायी उत्साहका साथ सहभागी भई कानुनी प्रक्रिया सम्बन्धी जानकारी लिएको म्याग्दे उद्योग वाणिज्य संघका महासचिव राजीव श्रेष्ठले बताए।


























