राष्ट्रिय जेष्ठ नागरिक दिवसमा जेष्ठ नागरिक मिलन केन्द्र दमाैलीमा विविध कार्यक्रम

राष्ट्रिय जेष्ठ नागरि राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा व्यास नगरपालिका–३ पन्चमन्दिरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रमा विविध कार्यक्रमको आयोजना गरिएको छ । जेष्ठ नागरिकप्रति सम्मान, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएको हो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जेष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताए । उनले नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा तथा सम्मानजनक जीवनयापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी योजना ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले जेष्ठ नागरिकको हेरचाह र संरक्षण केवल परिवारको मात्र नभई राज्य र समाजको समेत साझा दायित्व भएको बताइन् । उनले जेष्ठ नागरिकमैत्री नीति, सेवा र सुविधा विस्तार गर्न स्थानीय तहले निरन्तर पहल गरिरहेको जानकारी दिइन् ।


वडा अध्यक्ष काशीराम श्रेष्ठले वडास्तरमै जेष्ठ नागरिकका समस्या, आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर काम गरिने बताउँदै दिवाकालीन जेष्ठ नागरिक मिलन केन्द्रले जेष्ठ नागरिकलाई एकआपसमा भेटघाट, मनोरञ्जन र सामाजिक सक्रियतामा जोड्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष चित्र बहादुर क्षेत्रीकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष अनुप राना ,समितिका सचिव रेवत बहादुर कुवर लगायतका वक्ताहरूले जेष्ठ नागरिकले भोग्दै आएका समस्या, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ता, पहुँचयुक्त सेवा तथा सम्मानजनक जीवनयापनका विषयमा आ–आफ्ना धारणा राखेका थिए । सहभागी जेष्ठ नागरिकहरूले पनि आफ्ना अनुभव, समस्या र सुझाव प्रस्तुत गर्दै सुविधाको दायरा अझै बढाउन जोड दिएका थिए ।
उक्त अवसरमा जेष्ठ नागरिकलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिनुका साथै निशुल्क स्वास्थ्य जाँच कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । स्वास्थ्य जाँचले जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षणमा सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत राधा आचार्यले गरेकी थिइन् । उनले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै जेष्ठ नागरिकमैत्री समाज निर्माणमा सबैको भूमिका आवश्यक रहेको बताइन् ।
राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित यस कार्यक्रमले जेष्ठ नागरिकप्रति सम्मान र सरोकार बढाउन सकारात्मक सन्देश दिएकाे जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष चित्र बहादुर क्षेत्रीले बताए ।
याे सँगै व्यास नगरपालिकाले पालिका भित्रका विभिन्न ठाउँमा याे दिवस मनाएको छ ।


























