तनहुँमा बीपी विचार समाजद्वारा मेलमिलाप दिवस विशेष कार्यक्रम सम्पन्न

तनहुँ । बीपी विचार समाज तनहुँले मेलमिलाप दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष क्या. रेशमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि बीपी विचार समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङ रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले जननायक बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको विचार आजको परिवेशमा झनै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउन बीपीको विचारलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका अध्यक्ष क्या. रेशमबहादुर गुरुङले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिले देशलाई विभिन्न संकटका अवस्थाबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो। उहाँले बीपी विचार समाजले बीपीका विचारको प्रचार–प्रसार गर्दै नयाँ पुस्तालाई राजनीतिक चेतनासँग जोड्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा समाजका सल्लाहकार ऋषिराम पोख्रेल, दमौली एफएमका निर्देशक प्रताप सिंह अधिकारी, कोषाध्यक्ष भीमबहादुर श्रेष्ठ तथा सदस्यहरू इन्द्रबहादुर दराई, ई. दीर्घबहादुर थापा, राजकुमार श्रेष्ठ, कृष्णप्रसाद सोती, सूर्यभक्त अधिकारी, कृष्णप्रसाद भट्टराई, ऋषिराम भट्टराई, सीजकुमार श्रेष्ठलगायत शुभेच्छुक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले बीपी कोइरालाको राजनीतिक योगदान, राष्ट्रिय मेलमिलापको महत्व र वर्तमान राजनीतिक परिस्थितिबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए। बीपी विचार समाज तनहुँले मेलमिलाप दिवसको अवसरमा यस्ता वैचारिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



























