नेपाल वन पैदावार उद्योग व्यवसाय सङ्घ तनहुँको १८औँ वार्षिक साधारण सभा सम्पन्न
तनहुँ, पुस २०
नेपाल वन पैदावार उद्योग व्यवसाय सङ्घ तनहुँको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। आँबुखैरेनी गाउँपालिका–१ स्थित अकला मन्दिरमा सम्पन्न सभाको अध्यक्षता सङ्घका जिल्ला अध्यक्ष दीपबहादुर श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल वन पैदावार उद्योग व्यवसाय सङ्घ गण्डकी प्रदेशका अध्यक्ष प्रेमलाल श्रेष्ठले व्यवसायीहरूको हकहित र अधिकारका लागि सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
साधारण सभामा विशिष्ट अतिथिका रूपमा डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाट, महासङ्घका केन्द्रीय सदस्य देव रसाइली, निवर्तमान केन्द्रीय सदस्य कृष्णमुरारी मिश्र, गण्डकी प्रदेशका उपाध्यक्ष सुरेश घिमिरे, डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत नवीन विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सभामा सङ्घका सचिव वसन्त सदाशंकरले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णराज लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न व्यक्ति, सङ्घ–संस्था तथा सरकारी निकायलाई सहयोग प्रदान गरिएको, डढेलो नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको, क्यास–१ र प्रसिद्ध थानीमाई मन्दिर परिसरमा वृक्षारोपण गरिएको जानकारी दिनुभयो। आगामी दिनमा वृक्षारोपण कार्यक्रमलाई अझ व्यापक बनाउने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने, सङ्घको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गर्ने तथा व्यवसायीहरूलाई संगठित बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

साधारण सभाले रिक्त रहेको सङ्घको उपाध्यक्ष पदमा आशिष कुमार सुनार र कार्यसमिति सदस्य पदमा यालबहादुर गुरुङलाई सर्वसम्मत रूपमा चयन गरेको कोषाध्यक्ष कृष्णराज लामिछानेले जानकारी दिनुभयो।



























