बन्दीपुर खहरेकाे मिलिजुली कप भलिबल प्रतियोगितामा बुलिन्टर युवा क्लब प्रथम

बन्दीपुर खहरेकाे मिलिजुली कप भलिबल प्रतियोगितामा बुलिन्टर युवा क्लब प्रथम


तनहुँ, बन्दीपुर ।
बन्दीपुर गाउँपालिका–६ खहरेमा आयोजित मिलिजुली कप शुद्ध गाउँ तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता तथा तमु ल्होसारसहितको सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा आयोजकसहित ३८ टिमको सहभागिता रहेको थियो।
करिब एक दशकअघि कुखुराको भाले पुरस्कारबाट सुरु गरिएको मिलिजुली कपले यस वर्ष उल्लेखनीय फड्को मारेको आयोजक समितिले जनाएको छ। प्रारम्भिक दिनहरूमा बिजुलीको अभावमा तनहुँ सदरमुकामबाट भाडामा ल्याइएका सोलार ब्याट्री प्रयोग गरी कार्यक्रम सञ्चालन गर्नुपरेको स्मरण गर्दै अहिले सुविधासम्पन्न स्टेज, रु. एक लाख नगदसहितको प्रथम पुरस्कार तथा डिजिटल प्रविधि (युट्युबर, वाइफाइ, इन्टरनेट, सामाजिक सञ्जाल) को प्रयोगसहित प्रतियोगिता आयोजना गरिएको हो।
भलिबल प्रतियोगितामा बुलिन्टर युवा क्लब, नबलपुरले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। बुलिन्टरले उपाधिसहित रु. एक लाख नगद, प्रमाणपत्र, मेडल र शिल प्राप्त गरेको छ। यस्तै, मिलिजुली युवा क्लब, बन्दीपुर–६ खहरेले प्रतिस्पर्धात्मक खेलपछि द्वितीय स्थान हासिल गर्दै रु. सत्तरी हजार नगद, प्रमाणपत्र, मेडल तथा शिल प्राप्त गरेको छ।
यसैगरी, प्रतियोगितामा कोदिम युवा क्लब, रिसिङ–१ तृतीय बनेको छ भने शुक्लगण्डकी नगरपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।


कार्यक्रमको समापन समारोहमा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। तमु ल्होसार उद्घाटन समारोहमा बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङ प्रमुख अतिथि रहेकी थिइन्। यस्तै, देवघाट गाउँपालिका उपाध्यक्ष भुवन गुरुङ, क्लबको आठौँ वार्षिक उत्सव उद्घाटन प्रमुख अतिथि तथा वडा नं. ६ का वडा अध्यक्ष बल बहादुर गुरुङ, वडा नं. २ का वडा अध्यक्ष तिलक कुँवर, भलिबल उद्घाटन प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सफल पार्न टिम क्याप्टेन, क्लब अध्यक्ष, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार, आमा समूह, बाबा समूह, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको थियो। ड्रोन प्रदर्शनमा वडा सदस्यहरू विजय राना, मीन बहादुर गुरुङ र निशा गुरुङले सहयोग गरेका थिए भने युट्युबरहरूको उपस्थितिले कार्यक्रमलाई डिजिटल माध्यममा व्यापक प्रचार–प्रसार गर्न सहयोग पुगेको आयोजकको भनाइ छ।
कार्यक्रम संयोजक तथा मिलिजुली युवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जामगरले सीमित स्रोतसाधनका बीच सुरु गरिएको प्रतियोगिता आज यस स्तरसम्म आइपुग्नु सामूहिक प्रयास र निरन्तरताको परिणाम भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page