मादी गंगा महिला बहुउद्देश्यीय सहकारीको २८औँ वार्षिक साधारणसभा सम्पन्न

मादी गंगा महिला बहुउद्देश्यीय सहकारीको २८औँ वार्षिक साधारणसभा सम्पन्न

महिला विकास कार्यालयद्वारा प्रवर्द्धित श्री मादी गंगा महिला बहुउद्देश्यीय सहकारी संस्था लि., व्यास–२, तनहुँ को २८औँ वार्षिक साधारणसभा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। साधारणसभा संस्थाकी अध्यक्ष मञ्जु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि मेयर न्यौपानेले महिलाहरूको आर्थिक, सामाजिक र नेतृत्व विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले महिलामैत्री सहकारीहरूले स्थानीय तहको समृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै सहकारीको दीर्घकालीन सुदृढीकरणमा जोड दिनुभयो।
विशिष्ट अतिथिका रूपमा एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरीप्रसाद रेग्मी, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदीप राज अधिकारी, जनकल्याण गण्डकी सहकारीका अध्यक्ष देवकुमार श्रेष्ठ, मादी सेती सहकारीकी अध्यक्ष सुशीला शर्मालगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले महिला सहकारीले स्वरोजगार, बचत तथा ऋण प्रवाहमार्फत समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाकी सचिव रेनु नेपालीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संस्थाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम, सदस्य वृद्धिदर, बचत तथा ऋण लगानी, तालिम तथा सशक्तीकरणका गतिविधिबारे जानकारी गराइएको थियो।
त्यसैगरी, कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आम्दानी, खर्च, नाफा–नोक्सान तथा भविष्यका आर्थिक योजनाबारे स्पष्ट पार्नुभएको थियो। साधारणसभाले प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको छ।


साधारणसभामा संस्थाका शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले सहकारीको आगामी कार्यदिशा तय गर्दै महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरताको यात्रालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page