दमौलीमा पहिलोपटक रक हेड्स बेन्डको कन्सर्ट हुँदै
तनहुँको दमौलीमा पहिलोपटक चर्चित रक हेड्स बेन्डको प्रस्तुति हुने भएको छ। छैठौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा माघ २ गते शुक्रबार दमौलीस्थित महोत्सव स्थलमा रक हेड्स बेन्डको कन्सर्ट आयोजना गर्न लागिएको हो।
भिक्टोरिया इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको उक्त कन्सर्ट साँझ ६ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। भिक्टोरिया इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष संगम कायस्थका अनुसार रक हेड्स बेन्डको यो प्रस्तुति महोत्सवभर आयोजना हुने एकमात्र कन्सर्ट हो।
कन्सर्टका लागि टिकट दरसमेत तोकिएको छ। माघ २ गतेभन्दा अगाडि टिकट खरिद गर्ने दर्शकका लागि टिकट मूल्य ३५० रुपैयाँ निर्धारण गरिएको छ भने सोही दिन कार्यक्रम स्थलमै टिकट लिँदा ५०० रुपैयाँ तिर्नुपर्नेछ।
आदिवासी जनजातिको संस्कृति, पहिचान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक कला, परम्परागत खानाका परिकार तथा प्रदर्शनीहरू समावेश गरिएको छ। रक हेड्स बेन्डको कन्सर्टले महोत्सवलाई थप आकर्षक बनाउने र विशेषगरी युवापुस्तालाई उत्साहित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

दमौलीका संगीतप्रेमी तथा स्थानीय बासिन्दाका लागि यो कन्सर्ट पहिलोपटक प्रत्यक्ष रूपमा चर्चित रक बेन्डको प्रस्तुति अवलोकन गर्ने महत्वपूर्ण अवसर हुने बताइएको छ।




























