भानुमा लागूऔषधसहित दुई जना पक्राउ
तनहुँको भानु नगरपालिका–१ पुल्चोक क्षेत्रमा लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय भानुको टोलीले दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मिति २०८२ साल ०९ महिना १९ गते दिउँसो करिब १३:०० बजे भानु नगरपालिका–१ पुल्चोकमा लागूऔषध सेवन गरिरहेको अवस्थामा भानु नगरपालिका–७ निवासी २७ वर्षीय अक्रम मियालाई नियन्त्रणमा लिएको हो। सोधपुछका क्रममा मियाको साथबाट फेनारागन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र ब्रोफिन १ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानको क्रममा सोही दिन १४:०५ बजे भानु नगरपालिका–१ रमाइलोडाँडामा बा.प्र. ०६–००२ प ५८२१ नम्बरको मोटरसाइकलमा सवार भानु नगरपालिका–१ सालबिस्ने निवासी ३३ वर्षीय हेमराज गुरुङलाई पनि लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। गुरुङको साथबाट फेनारागन ३२ एम्पुल, डाइजेपाम ४१ एम्पुल र ब्रोफिन ३७ एम्पुल बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

























