दमौलीमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारबारे अन्तरक्रिया

दमौली, तनहुँ — सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ। मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजना तथा प्रदेश अस्पताल दमौलीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सेवा प्रदायक, कानुन व्यवसायी तथा सरोकारवालाबीच सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार कार्यान्वयनमा देखिएका व्यवहारिक समस्या र समाधानका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्मा पौडेलले सुरक्षित मातृत्वसम्बन्धी कानुनी व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिने गरेको बताए। उनले कानुन, नीति र सेवा प्रवाहबीचको दूरी घटाउन जनचेतना अभिवृद्धि र संस्थागत सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।
तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले प्रजनन स्वास्थ्यसँग सम्बन्धित मुद्दामा संवेदनशील र मानवअधिकारमैत्री दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याए।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै यसका लागि राज्यका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

प्रदेश अस्पताल दमौलीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन बरालले स्वास्थ्य संस्थाले सुरक्षित मातृत्व सेवामा सुधार गर्दै आएको जानकारी गराउँदै अझै जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए।
कार्यक्रममा तनहुँ बार एसोसिएसनकी अध्यक्ष सरिता भण्डारीले महिलाको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न कानुनी पहुँच सरल हुनुपर्नेमा जोड दिँदै पीडित महिलाले सहज रूपमा न्याय पाउने वातावरण निर्माण गर्न कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताइन्।
प्रदेश अस्पताल दमाैलीका अध्यक्ष कमलामोहन वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–न्यायाधिवक्ता खेमराज पाठकले सहजीकरण गरेका थिए। कार्यक्रममा प्रदेश अस्पताल दमौली, व्यास नगर अस्पतालका कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




























