तनहुँ कांग्रेस १ द्वारा विशेष महाधिवेशनमा सहभागिताका लागि आह्वान
दमौली, तनहुँ ।
नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएपछि तनहुँमा पनि तयारी सुरु गरिएको छ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ तनहुँले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्लाबाट जाने सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा पार्टी पंक्तिलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
क्षेत्रीय कार्यसमिति तनहुँ–१ का सभापति श्यामकुमार मौरातीद्वारा जारी विज्ञप्तिमा पार्टी विधानको धारा १७(२) अनुसार बोलाइएको यो विशेष महाधिवेशनले पार्टीभित्रको विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने उल्लेख गरिएको छ।
विज्ञप्तिमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सबै महाधिवेशन प्रतिनिधिहरूलाई पुस २७ र २८ गते काठमाडौंमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। साथै प्रदेश सभा क्षेत्रीय कार्यसमिति, नगर तथा गाउँपालिका कार्यसमिति, वडा समितिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि तथा जिल्लाका अग्रज नेताहरूलाई समेत सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरिएको छ।
विशेष महाधिवेशनको औपचारिक उद्घाटन पुस २७ गते बिहान ११ बजे हुने कार्यक्रम रहेको छ। उद्घाटनपूर्व बाजागाजा र झाँकीसहितको र्याली भृकुटीमण्डप प्रवेश गर्ने कार्यतालिका रहेको जानकारी पनि क्षेत्रीय कार्यसमितिले दिएको छ।

तनहुँ कांग्रेस नेतृत्वले विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाउँदै आगामी राजनीतिक दिशा स्पष्ट पार्ने विश्वास व्यक्त गरेको छ। यसअघि क्षेत्र नं २ ले पनि महाधिवेशन मा भाग लिन आब्ह्वान गरिसकेको छ ।

























