कम गुणस्तरको पानी उत्पादन भएको जनगुनासोपछि अकला फुड एण्ड बेभरेजमा अनुगमन

कम गुणस्तरको पानी उत्पादन भएको जनगुनासोपछि अकला फुड एण्ड बेभरेजमा अनुगमन

तनहुँको म्याग्दे गाउँपालिका–४ मा अवस्थित अकला फुड एण्ड बेभरेज इण्डस्ट्रिज प्रालिबाट उत्पादन हुँदै आएको खानेपानी कम गुणस्तरको रहेको भन्ने जनगुनासो प्राप्त भएपछि शुक्रबार सम्बन्धित निकायले उद्योगमा अनुगमन तथा निरीक्षण गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको नेतृत्वमा गरिएको उक्त अनुगमन टोलीमा डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योती आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका अधिकृत अशोक गौतम, जिल्ला प्रशासन कार्यालयका नासु गोपाल पोखरेल, सुरक्षाकर्मी, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
अनुगमनका क्रममा उद्योगमा उत्पादन हुँदै आएको पानी खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसारका आवश्यक मापदण्ड पूरा नगरेको प्रारम्भिक रूपमा देखिएको जनाइएको छ। सोही कारण तत्कालका लागि पानी उत्पादन नगर्न, बिक्री वितरण रोक्न तथा उद्योगका सबै प्रक्रिया सुधार गर्न निर्देशन दिइएको छ।
टोलीले उद्योगबाट उत्पादन गरिएको पानीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। परीक्षणको नतिजा आएपछि त्यसको आधारमा थप कारबाही प्रक्रिया अघि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ।
डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योती आचार्यले उद्योगले तोकिएका सबै स्वच्छता, गुणस्तर र प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने बताउँदै १५ दिनभित्र आवश्यक सुधार नगरे कानुनी कारबाही अगाडि बढाइने स्पष्ट पारे । “उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने विषय भएकाले कुनै पनि उद्योगलाई लापरबाही गर्न छुट नभएको उनले बताए ।


स्थानीय तहका प्रतिनिधि र उद्योग वाणिज्य संघले पनि उद्योगहरूलाई मापदण्ड पालना गर्दै जिम्मेवार रूपमा उत्पादन गर्न आग्रह गरेका छन्। साथै उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि यस्ता अनुगमनलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाइएको छ।
हाल उद्योगलाई १५ दिनको समयसीमा दिइएको छ र सो अवधिभित्र सबै आवश्यक मापदण्ड पूरा गरेपछि मात्रै पुनः उत्पादन तथा बिक्री गर्न अनुमति दिइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page