तनहुँको शुक्लागण्डकीमा तीन जनाको विभत्स हत्या
निर्माणाधीन फोहोर प्रशोधन केन्द्र नजिकै दुई पुरुष र एक महिलाको शव फेला
दमौली, तनहुँ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा तीन जनाको विभत्स हत्या भएको छ। शनिबार बिहान निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिकै दुई पुरुष र एक महिलाको शव फेला परेको हो।
मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुई जनाको अझै सनाखत हुन सकेको छैन। पहिचान खुलेका मृतक शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक हुन्। उनी सो फोहोर प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ‘ग्रिन रोड प्रालि’का कर्मचारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउन्ड बाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्र बाहिरै टहरा बनाएर बस्ने अर्का एक पुरुषको शव पनि फेला परेको थियो।
सोही टहरामा ती पुरुषसँगै बस्दै आएकी एक महिला सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। खोजीका क्रममा दिउँसो करिब १२ बजे दुई पुरुषको शव भेटिएको स्थानबाट करिब ७ सय मिटर टाढा जनकल्याण माध्यमिक विद्यालयको पछाडि कसेरीघाटको जंगलमा ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार शवको अवस्था अत्यन्तै विभत्स छ। मृतक नारायण विक र अर्का एक पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको छ भने महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीसहितको टोली तथा गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली घटनास्थलमा खटिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार बिकले प्रारम्भिक अनुसन्धानबाट घटना नियोजित हत्या भएको देखिएको जानकारी दिनुभयो। उहाँका अनुसार मृतक दुई जनाको पहिचान खुल्न बाँकी रहेको र उनीहरू कवाडी संकलनको काम गर्ने बुझिएको छ।
“शंकास्पद व्यक्तिहरूको खोजी तथा प्राविधिक विश्लेषणलाई तीव्र बनाइएको छ। घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गरिनेछ,” डिएसपी बिकले भन्नुभयो।
तीनै जनाको शव पोस्टमार्टमका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने प्रहरीले अपराधी उम्कन नदिने गरी नाकानाकामा निगरानी कडा बनाएको छ।


























