दीपक माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती सम्पन्न

भिमाद नगरपालिका–५, ऋषिङ्गपाटनस्थित दीपक माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती कार्यक्रम पौष २७ गते भव्य रूपमा सम्पन्न भएको छ।
समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विद्यालयको शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै छात्रावास निर्माण, शौचालय व्यवस्थापन, अङ्ग्रेजी माध्यम सुदृढीकरण, डिजिटल बोर्ड जडान तथा खेलमैदानको स्तर उन्नतिका लागि आगामी बजेटमार्फत सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले विद्यालयको ५३औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा सम्पूर्ण विद्यालय परिवारलाई शुभकामना दिनुभयो।
पौष २४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रमको समापन समारोहमा मन्त्री थापाद्वारा विद्यालयसम्बन्धी पुस्तकको विमोचनसमेत गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उत्तम खनियाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापको प्रगति विवरण प्रस्तुत गर्नुभयो।
कार्यक्रमअन्तर्गत अन्तर्विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए। प्रतियोगिताले विद्यार्थीहरूबीच खेलकुद भावना र आपसी सद्भाव अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्। साथै आरसी गौली र दीपक गैरेको विशेष सांस्कृतिक प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रमका क्रममा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो भने पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
समापन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


























